२०७५ असार २४ गते ११:०० विकासन्युज
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति पछिल्लो समय बीमा कम्पनीहरुसँग लगातार पराजित हुँदै आएको छ । बीमा समितिका निर्णय बिरुद्ध बीमा कम्पनीहरुले अदालतमा दायर गरेका अधिकांश मुद्धामा समिति पराजित हुँदै आएको हो ।
केहि समय अघि मात्रै महालक्ष्मी लाईफ इस्न्योरेन्स कम्पनीलाई लाइसेन्स नदिने समितिको निर्णय अदालतले उल्ट्याईदिएको थियो । तोकिएको समयमा पुँजी पुर्याउन नसकेको भन्दै समितिले महालक्ष्मी लाईफ इन्स्योरेन्सलाई लाइसेन्स दिन अस्विकार गरेको थियो । तर महालक्ष्मीले सर्वाेच्च अदालतमा मुद्धा हालेर जित्यो ।
बीमा समितिलाई पराजित गर्ने पछिल्लो कम्पनीका रुपमा युनाइटेड इन्स्योरेन्स थपिएको छ । सीजी इलेक्ट्रोनिक्स आगलागी प्रकरणमा गलत ढंगले भुक्तानी गरेको भन्दै बीमा समितिले युनाईटेड इन्स्योरेन्स कम्पनीको फायर पोलिसीमा रोक लगाएका थियो । तर कम्पनीले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेर अन्तरकालिन आदेश ल्याएको छ ।
सर्वाेच्च अदालतका न्यायधिशद्धय सपना मल्ल प्रधान र ईश्वर खतिवडाको पूर्ण इजलासले युनाईटेड ईन्स्योरेन्स कम्पनीको फायर पोलिसी रोक्ने निर्णय कार्यान्वयन नगर्न बीमा समितिलाई अन्तरिम आदेश दिएको निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले जानकारी दिए । अब अदालतले अन्तिम फैसला नगरेसम्म युनाईटेड इन्स्योरेन्स कम्पनीले फायर पोलिसी बेच्न पाउनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.