२०७२ असार ६ गते १२:०८ विकासन्युज
माथिल्लो तामाकोशीको सेयर निस्काशनको कार्य किन यति लामो भईराखेको छ ?
सामान्यतया कम्पनीहरुमा दुई प्रकारका सेयरधनी हुन्छन् । प्रवद्र्धक र सर्वसाधारणका लागि भनेर सेयर विभाजन गरिन्छ । तर तामाकोशीको सेयर चार समूहमा विभाजन गरियो । प्रभावित क्षेत्रका जनता, प्रवद्र्धक, प्रवद्र्धक तथा ऋण दिने संस्थाका कर्मचारी तथा सञ्चयकर्ता र सर्बसाधारण गर चार समूहको सेयर संरचना रहने गरि कम्पनी अगाडि बढेको छ ।
प्रवद्र्धक र ऋणदाताका कर्मचारी तथा बचतकर्ताले सेयर पाईसके । अब प्रभावित क्षेत्रका जनता र सर्वसाधारण जनतालाई सेयर दिने प्रक्रिया शुरु हुन्छ । जुन प्रकारको शेयरको संरचना बन्यो त्यसअनुसार सेयर निश्कासन प्रक्रिया लामो भएपछि समय पनि बढि लाग्ने नै लाग्यो ।
प्रभावित क्षेत्रका जनता र सर्वसाधारण जनताका लागि कहिलेसम्म सेयर निश्काशन गरिदैछ ?
सर्वसाधारणका लागि सेयरछुट्याइएको मात्रै छ । वितरणको गृहकार्य गरिएको छैन । दोलखाबासीका लागि छुट्र्याइको १० प्रतिशत शेयरको आव्हान पत्र माघमै निकालेका थियौं । विभिन्न कारणले प्रक्रिया अघि बढाउन सकिएन । अब परियोजनाले सरोकारवालासँग छलफल गरेर प्रक्रिया अघि बढाउने टुगो लगाउँछ । धितोपत्र बोर्डसँग थप छलफल गरेर प्रक्रियाँ अघि बढाउँछौं । सर्वसाधारणको सेयर कुन चाँही पहिलो हुन्छ भन्न सकिन्न ।
दोलखाबासी र सर्बसाधारणको लागि एकै पटक सेयर निश्काशन हुन सक्दैन ?
पहिला धितोपत्र बोर्डले विवरण पत्रका दुई भाग छुट्याईदिएको रहेछ । अब फेरि स्विकृति लिएर आव्हान पत्र जारी गर्नु पर्ने अवस्था आउन सक्छ । अहिले प्राथमिकता प्राप्त शेयरका रुपमा दोलखा जिल्लाबासीको सेयर बाँढ्ने क्रमले प्राथमिकता पाउनुपर्छ । दुबै क्षेत्रलाई एकै पटक बाँढ्न सकिन्छ ।
तामाकोशीको शेयरमा सत्ताधारीले अग्राधिकार पाएका हुन ? ऋण दिनेले शेयरमा पनि अग्राधिकार लिन पाउँछ ?
यो अदालतमा विचाराधिन मुद्धा भएकाले यसमा थप बोल्नु उपयुक्त हुँदैन ।
भूकम्पका कारण तामाकोशी आयोजनाको निर्माण समयअवधी र लागत कति बढ्ने देखियो ?
यसबारेमा अपर तामाकोशी परियोजना आफैंले गरिरहेको छ । उहाँहरुसँगको छलफलका क्रममा केहि क्षति भएको विवरण आएको छ । क्षतिको एकिन विवरण परियोजनाले पनि तयार पारिसकेको छैन । विवरण संकलनकै क्रममा रहेको जानकारी पाएको छु । भूकम्पका कारण समय र लागत केहि बढ्ने कुरा पक्का भैसकेको छ । तर कति समय बढ्छ र लागत कति बढ्छ भनेर एकिन भैसकेको छैन । मुख्य गरि पहुँच मार्ग र ड्याममा केहि क्षति पुगेको छ ।
भूकम्प प्रभावित पुँजीबजारको उद्धार गर्न बास्केट फण्ड बनाउने कुरा आयो, यसको तयारी कहाँ पुग्यो ?
बैशाख १२ गते भूकम्प गयो । तर हामीले त्यसभन्दा अगाडि नै बास्केट फण्ड बनाउने तयारी गरेका थियौं । २०४७ सालमा आएको नागरिक लगानी कोष ऐनमै लगानी कोषले मार्केट मेकरका रुपमा काम गर्न सक्ने भनिएको छ । त्यही कानुनी व्यवस्थामा टेकेर हामीले गत फागुनमै अध्ययन गरिसकेका थियौं । त्यतिखेराको प्रयासलाई अगाडि बढाउन भूकम्पले थप दवाव सिर्जना गरेको छ ।
नेपालको पुँजी बजार करिब १० खर्ब रुपैयाँको छ । यो साईजको बजारमा हुने अस्वभाविक उतार चडाव रोक्न र लगानीकर्ताको जोखिम कम गर्न कम्तिमा पनि पुँजी बजारको पाँचदेखि १० प्रतिशतको फण्ड आवश्यक छ । पँुजी बजारको पाँच प्रतिशत बराबरको बास्केट फण्ड तयार गर्ने हो भने पनि ५० अर्ब रुपैयाँ चाहिन्छ । तीन प्रतिशत मात्रको कोष बनाउने हो भने पनि ३० अर्ब रुपैयाँ आवश्यक हुन्छ । यति ठूलो रकम नागरिक लगानी कोषले मात्र राख्न सक्दैन । त्यसमा कर्मचारी सञ्चय कोष, बीमा कम्पनीहरुलाई बास्केट फण्डमा सहभागि गर्न सकिन्छ । अर्बौ रुपैयाँ कोषमा जम्मा गरेका अन्य सरकारी निकायलाई पनि यसमा सहभागि गराउन सकिन्छ । नागरिक लगानी कोषले धितोपत्रको व्यवसायी र मार्केट मेकरको काम दुबै गर्न सक्छ । हामीले त्यसको प्रक्रिया अघि बढाईसकेका छौं ।
मार्केट मेकरको अभ्यास यसअघि किन नगर्नु भएको ?
नेपालमा पहिलो पटक मार्केट मेकरको अधिकार पाएको नागरिक लगानी कोषले नै हो । बजार निर्माताका रुपमा सहायक कम्पनी खडा गर्न सक्ने सुबिधा छ हामीलाई । तर कानुनले दिएको अधिकारलाई पनि यसअघि प्रयोग गर्न नसकेको नै हो । अब सहायक कम्पनी खडा गर्ने कि यसै भित्रै संरचना बनाएर जाने भन्नबारे पनि छलफल चलिरहेको छ ।
बजारमा निर्माताको भूमिका के के हुन्छन ?
बिभिन्न कम्पनीका शेयरहरुको बजार ह्वात्तै माथि आउने र तल झर्ने प्रक्रियालाई रोकेर बजारलाई स्थीर राख्न बजार मेकरले काम गर्ने हो । शेयरमा पर्न सक्ने प्रभावलाई रोकेर किनबेचलाई सुनिश्चित गर्ने काम मार्केट मेकरले गर्छ । तल झर्यो भने किन्ने काम गर्छ भने अनावश्यक रुपमा माथि जाने प्रक्रियालाई पनि रोक्छ । प्रारम्भिक मोडल यहि नै हो । नेपालमा अरु कसैले पनि मार्केट मेकरको अभ्यास नगरेकाले यसको विस्तृत मोडालिटी हामी तयार गर्दैछौं ।
शेयरहरुको बजार ह्वात्तै माथि आउने र तल झर्ने प्रक्रियालाई रोकेर बजारलाई स्थीर राख्नु बजार मेकरको मूख्य भूमिका हो भन्नु भयो । खुल्ला बजार माथि हस्तक्षेप गर्ने औचार हो यो ?
होइन, यो हस्तक्षेप हुँदै होइन । बजार निर्माताका काम भनेको बजारमा एक्कासी हुन सक्ने उतारचढावलाई रोक्नु हो । हामीले बजारलाई दुर्घटनाबाट जोगाउने, सुरक्षित गर्ने हो । बिक्री नभएका संस्थाहरुको सेयर किनबेच गरेर कारोबार रकम बढाउने काम पनि यसले गर्छ ।
जुन कम्पनीको सेयर किनबेच नै हुँदैन, त्यतिवेला मार्केट मेकरले कसरी काम गर्न सक्छ ?
नागरिक लगानी कोषले पहिलो पटक पाँच बर्षिय रणनीतिक योजना तयार गर्दैछ । हाम्रा चुनौती र अवसरको खोजी त्यसमा हुनेछ । यी सबै प्रश्नहरुको निदान त्यसमै हुनेछ । कसरी अगाडि जाने भन्नेबारेमा पनि त्यसमै बिशेष व्यवस्था गरिनेछ । हामीलाई पुँजी बजारका लागि दक्ष परामर्श दिने सुबिधा पनि ऐनले दिएको छ । त्यसरी सेयर फ्रिज भएका कम्पनीहरुलाई समेत दक्ष परामर्श समेत उपलब्ध गराउँछौं ।
‘मसँग नयाँ योजना छ, मन्त्रालयबाट स्वीकृत गराउनु पर्नेछ’ भनेर अर्थमन्त्रालय पटक पटक गईरहनुहुन्छ रे, त्यो योजना के हो ?
म मन्त्रालयले गएको गयै गर्छु भन्ने कुरा गलत हो । काम बिशेष मन्त्रालय जान्छु । पाँच बर्षिय रणनीतिक योजना बनाउँदैछौं । त्यसमा हाम्रो हैसियत के हो ? सम्भवना के हो ? भन्ने खोज्ने छौं । आगामी दिनमा कोष कुन दिशामा जान्छ र कुन कुन व्यावसाय गर्छ भन्ने कुरा त्यसमा खोजिन्छ । हामीले संस्थागत संरचना तयार पारेका छौं । अब बजारमा जानुछ । व्यवसाय विस्तार गर्नुछ । वास्तवमा नागरिक लागानी कोषको भर्टिकल ग्रोथ भएको छ, त्यसको होरिजेन्टर एक्सपान्सन भएकै छैन । कोषको होरिजेन्टर एक्सपान्सन गर्ने दिशामा हामीले काम थालेका छौं ।
कोषले बचत, लगानी र पुँजी बजारमा काम गर्नु पर्ने हो । हामी सीमित दायरामा काम गरिरहेका छौं । शहरबाट अघि बढेर ग्रामिण क्षेत्रसम्म पुग्नुपर्छ, त्यो योजना आउँछ । विदेशमा बसेका नेपालीहरुको पुँजीलाई समेटेर पुँजी बजारमा लगानी बढाउने काम गर्न सक्छ । उत्पादन मुलुक परियोजनाहरुमा लागनी गरे कुल गाहस्र्थ उत्पादनमा योगदान बढाउने र रोजगारी श्रृजना पनि गराउने योजना पनि आउँछ । हामीले लगानी गरेका क्षेत्रहरुले जीडीपीमा पुग्ने योगदानको हिस्सा बनाउन सक्नु पर्छ । अहिलेसम्म हामी माइक्रो लेभलसम्म मात्रै पुगेका छौं अब म्याक्रो लेभलसम्म पुगेर काम गर्छाै ।
जीडीपीमा योगदान बढाउने चाहाना राख्ने नागरिक लगानी कोषको लागानी गर्न सक्ने क्षमता कति हो ?
कोषमा औषत बार्षिक १० अर्ब निक्षेप बढिरहेको छ । असारसम्ममा हेर्ने हो भने हामीसँग ६३ अर्ब बचत छ । हामीले त्यो सबै पैसा लगानी गर्न सक्छौं । यो मध्ये अधिकांश रकम बैंकमा डिपोजिट गरिएको छ । दिगो आम्दानी र राष्ट्रिय उत्पादकत्वमा सघाउने पुर्याउने क्षेत्रमा लगानी गर्छाै ।
कोषले नागरिकसँग बचत जम्मा गरेर बैंकमा जम्मा गर्नै र व्याजमा मार्जिन खाने मात्र काम गरेको आरोप यस संस्थालाई लाग्दै आएको छ, किन यस्तो भयो ?
त्यसैले हामी अत्याधिक आम्दानी हुने लगानीका क्षेत्रको तिब्र खोजीमा छौं । पुँजी बजारमा हामी डिलरका रुपमा र मार्केट मेकरका रुपमा पनि जाँदैछौं । यसले नै कारोबार बढाएर जीडीपीमा योगदान बढाउँछ ।
कोषले उत्पादन मुलक क्षेत्रमा कति लगानी गरेको छ ?
कोषमा जम्मा भएको बचत मध्ये ६४ प्रतिशत बैंकहरुमा मुद्दती खातामा जम्मो भएको छ । करिब २५ प्रतिशत उत्पादन मुलक क्षेत्रमा लगानी भएको छ । १० प्रतिशत धितोपत्र बजारमा लगानी भएको छ ।
निक्षेपमा व्याज कति आउँछ ?
फागुनपछि सात प्रतिशत भन्दा बढि ब्याजमा डिपोजिट गरेका छौं । बचतकर्तालाई नै ७ प्रतिशत रिटर्न ग्यारेण्टी गरेका छौं । अपरेशन कष्ट शुन्य दशमलब १५ प्रतिशत मात्रै छ । कष्ट अफ फण्ड ७.२५ पुगेको छ । त्यसैले अब दीर्घकालिन आम्दानीका क्षेत्रमा लगानी नगरी सुखै छैन । पाँच बर्ष भित्रमा मुद्दती निक्षेप ३५ प्रतिशतमा झार्ने, ६५ प्रतिशत विभिन्न क्षेत्रमा लगानी गर्ने योजना बनाएका छौं ।
कुन कुन क्षेत्रमा लगानी गर्ने हो ?
बास्केट फण्डमा अलि ठूलो लगानी हाम्रो हुन्छ । त्यसपछि पूर्वाधार, उर्जाका परियोजना र विमानस्थलहरुको निर्माणमा पनि लगानी गर्न सक्छौं । दीर्घकालिन योजनामा यी सबै कुरा उल्लेख गरेका छौं । आगामी तीन चार बर्षमा ठूलो फड्को मार्छाै ।
कोषको चालु आर्थिक बर्षमा नाफा कस्तो होला ?
हाम्रो ठूलो रकम डिपोजिटमा रहेको छ, लगानीका क्षेत्रहरु पहिचान गर्न नसकेकाले समस्या आएको हो । विगत भन्दा धेरै नाफा कमाउने अवस्था देखेको छैन अहिले ।
हाइड्रोमा लगानी कति हो ?
अहिलेसम्म अपर तामाकोशीमा मात्र हो । नेपालमा लगानीको सबै भन्दा राम्रो ठाउँ भनेको हाईड्रो नै हो । कोशीको पहिरो र भूकम्पपछि केहि त्रास उत्पन्न भएको छ । यद्यपि प्रबिधिका क्षेत्रमा सुधार अत्यावश्यक देखिएको छ । नयाँ प्रबिधि भित्र्याएर अघि बढ्न सक्दा उर्जाको विकासमा गति आउँछ ।
भूकम्पले क्षति पुगेको अर्थतन्त्रको पुनरउत्थान तथा पुनःनिर्माणमा नागरिक लगानी कोषमा जम्मा भएको रकम परिचालन गर्न सकिदैन ?
सकिन्छ । हामी नेपाल सरकारले जारी गर्ने विकास ऋण पत्र किन्छौं । सरकारले जारी गर्न ऋणपत्रमा लगानी गर्दा कोषलाई लाभ छैन । कोषमा जम्मा हुने रकमको लागत ७ प्रतिशत भन्दा बढी छ । तर ऋणपत्रको व्याज ५ प्रतिशत पनि छैन । तैपनि राष्ट्रप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्छ भनेर हामीले ऋणपत्रमा लगानी गरिरहेका छौं ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.