युरोप र अमेरिकाबाट चार लाख पर्यटक भित्र्याउने निगमको लक्ष्य

  २०७५ भदौ ५ गते १८:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको प्रयोगबाट वार्षिक चार लाख पर्यटन भित्र्याउने गरी सरकारले योजना अगाडि सारेको छ । सन् २०२० सम्म युरोप, अमेरिका, दक्षिण पूर्वं एशियालगायतका स्थानमा उडान भर्ने निगमको लक्ष्य छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा प्रमुख गन्तव्यमा निगमका जहाज नै उडाउने सरकारको योजना छ । सोही आधारमा निगमले गत दुई महिना असार १४ र साउन १० गते दुई ठूला क्षमताका ‘बाइड बडी’ जहाज भित्र्याएको छ ।

निगमले भित्र्याएका ती जहाज पूर्ववत् गन्तव्यका अलावा नयाँ गन्तव्यमासमेत उडान गर्ने योजना अघि सारेको छ । बाइड बडी जहाजले नयाँ गन्तव्यमा उडान भर्नेछन् भने आगामी दिनमा खरिद गर्न लागिएका ‘न्यारो बडी जहाज’ ले क्षेत्रीय उडान गर्नेछन् ।

नयाँ गन्तव्यमा उडानका लागि बिक्री प्रबन्धकको नियुक्ति तथा अन्य प्राविधिक तयारीको काम भइरहेको छ । जापानसँग द्विपक्षीय हवाई सम्झौता नवीकरण भएको छ । सो सम्झौतापछि सातामा १४ स्थानमा उडान गर्न सकिने भएको छ । यसअघि सातामा दुई उडान मात्रै हुने व्यवस्था थियो । जापानको नारिता र टोकियो विमानस्थलमा निगमका जहाज पुग्ने र त्यहाँबाट नेपाल आउन चाहने पर्यटकलाई सहज हुनेछ ।

निगमले जापान र दक्षिण कोरियासंग हवाई उडान सम्बन्धी पत्राचारसमेत गरेको छ । पत्राचारका आधारमा ती देशका उड्डयन अधिकारी नेपाल आएर जाँच गरेपछि उडानको स्वीकृति प्राप्त हुनेछ । ती देशमा उडानको अनुमति प्राप्त भएपछि युरोपेली सङ्घले तोकेको खतराको सूची स्वतः हट्नेछ । हवाई सुरक्षामा संसारकै उत्कृष्ट मानिएको दक्षिण कोरियामा उडान शुरु हुने वातावरण बनेपछि निगमका लागि थप स्वर्णिम ढोका खुल्नेछ ।

निगमले दक्षिण कोरियामा समेत निकट भविष्यमा नै उडान गर्ने तयारी गरेको छ । सरकारले कुटनीतिक पहलसमेत गरिरहेको छ । दक्षिण कोरियाबाट पनि नेपाल आउन चाहने पर्यटकलाई निगमले सहज सेवा उपलब्ध गराउनेछ ।

यस्तै युरोपका अन्य गन्तव्यको समेत खोजी भइरहेको छ । सरकारले विदेशमा रहेका नेपाली कुटनीतिक नियोग र गैरआवासीय नेपालीलाई समेत ‘आफ्ना मित्रलाई नेपाल पठाऔं’ भन्ने नाराका साथ काम गरिरहेको छ । नेपाल उडान गर्ने अन्य विदेशी विमान कम्पनीसँग पनि सरकारले धामाधम सम्झौता गरिरहेको छ ।

चीनबाट नौ वटा र भारतबाट छवटा विमान कम्पनीले नियमित उडान गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै श्रीलङ्का, पाकिस्तान, इण्डोनेसिया, भियतनामबाट पर्यटक भित्र्याउने गरी निमगले उडान गर्ने तयारी गरेको छ । ती मुलुकले निगमका अलावा आफ्नै विमान कम्पनीले समेत नेपालमा उडान भर्ने इच्छा व्यक्त गरेका छन् ।

चीन र भारतका पर्यटकलाई केन्द्रीत गरेर निगमले आफ्ना उडान विस्तार गर्ने योजना बनाएको र त्यसका लागि आवश्यक निर्देशनसमेत दिइएको मन्त्री अधिकारीको भनाइ छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा राष्ट्रिय ध्वजाबहाकको भूमिका नै महत्वपूर्ण रहने र त्यसका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराइरहेको छ । निगमको टिकट खरिदका लागि अनलाइन बुकिङ प्रणाली सञ्चालनमा ल्याइएको छ । त्यसबाट नेपाल आउन चाहने पर्यटकलाई थप सुविधा प्रदान गरिने छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.