साझा यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

  २०७५ कार्तिक ६ गते १४:१०     विकासन्युज

काठमाडौं । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युत्ले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक असर गर्ने बताए । विद्युतीय बसले ऊर्जाको किफायत गर्नेमा उनको जोड छ । उनले भने, “हाम्रो देशमा आफ्नो पेट्रलियम पदार्थ नहुँदा विद्युतीय बस सञ्चालनमा जोड दिन खाँचो छ ।”

उपत्यकामा मात्र हजारौँ गाडी र आठ लाख बढी मोटरसाइकल गुडिरहेको उनले बताए। आगामी दिनमा विद्युतीय सवारीनको प्रबद्र्धन गर्दै जाने उहाँको भनाइ थियो । नेपाल विद्युत् प्राधिकरणले २० ठाउँमा चार्जिङ स्टेशन स्थापना गर्ने उनले बताए । उनले भने, “अरु निकायसँग सहकार्य बढाएर विद्युतीय सवारीलाई प्रवद्र्धन गर्नुपर्छ ।”

सरकार सार्वजनिक यातायातको स्तर र गुणवृद्धि गर्नमा प्रतिवद्ध भएको उनले बताए । विद्युतीय बसको प्रयोगबाट सार्वजनिक यातायातलाई सुरक्षित र गुणस्तरीय बनाउँदै जानेमा उहाँको जोड छ । उनले भने, “विद्युतीय बस विस्तार गर्दै जानका लागि निजी क्षेत्रको यसमा सहभागिता खाँचो छ ।’ उत्पादन गर्नेहरूले पनि विद्युतीय बसको मूल्य घटाउन खोज र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याए।

विद्युतीय बसको शुरुवात अहिलेका लागि सानो प्रयास मात्रै भएको प्रधानमन्त्री ओलीले बताए। लुम्बिनीमा चलाउने बस केही समयका लागि काठमाडौँ उपत्यकामा चलाउन लागिएको हो । विज्ञान र प्रविधि मानव जीवनलाई सहज बनाउन प्रयोग हुनुपर्नेमा उनको जोड छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा बस ल्याइएको हो । बसको बजार मूल्य रु दुई करोड रहेको साझा यातायातले जनाएको छ । २० जना क्षमताको बस अपाङ्गतामैत्रीसमेत रहेको छ । बसको व्यवस्थापन साझा यातायातले गर्ने भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.