२०७५ मंसिर ३ गते ११:४९ विकासन्युज
काठमाडाैं । १३ अर्ब ६४ करोड ४० लाख अनुमानित लागतमा निर्माण गर्दै गरेको उक्त आयोजनाको चार हजार १८५ मिटर लामो रेड्रेस सुरुङ र विद्युत् उत्पादन गर्ने स्थलमा पहरा फुटाइ उत्खनन कार्य पूरा भएको छ । भूमिगत संरचनाबाट विद्युत्गृहको संरचना बनाउने कार्य अगाडि बढाइएको आयोजना प्रमुख छवि गैह्रेको भनाई रहेको छ ।
रसुवागढी नजिक भोटेकोशीमा बाँधबाँधी तातोपानी नजिक गोसाइँकुण्ड गापा– १ थुमनको भूभागमा १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१४ बाट रसुवागढी हाइड्रोपावर कम्पनीमार्फत निर्माण प्रक्रिया अगाडि बढेको र समग्र रुपमा काम ७० प्रतिशत पूरा भइसकेको उक्त कम्पनीका प्रबन्धक निर्देशक माधव कोइरालाले जानकारी दिएका छन् ।
विसं २०७२ को विनाशकारी भूकम्प त्यसपछिका परकम्प र सामान ढुवानी गर्र्ने राजमार्गमा पहिराको अवरोध, भोटेकोशीमा आएको बाढी जस्ता कारणले आयोजना सम्पन्न गर्ने समयावधि बढेको बताइएको छ । असहज काम सबै सकिएकाले कम्पनीले लिएको लक्ष्यबमोजिम सन् २०२० को फेब्रुअरीभित्रै सम्पन्न गरिने गर्ने लक्ष्य रहेको छ ।
प्रभावित क्षेत्रका बासिन्दामाथि सामाजिक काममा सहयोग गरिरहेको र खैदी मोटर बाटो निर्माण गर्ने प्रतिबद्धता जाहेर गरिसकेको बताउँदै टिमुरे घट्टेखोला निवासी समाजसेवी सोनाम वाङ्दी तामाङले सामाजिक उत्तरदायित्वका सवालमा राम्रो काम भएको छ । कुनै आकस्मिकरुपमा परी आउने सहयोगलाई समेत निरन्तरता दिई आयोजनाले सद्भाव राम्रो कायम गरेको बताएका छन् ।
३० भन्दा बढि प्राविधिक कार्यरत रहेको उक्त आयोेजनाले थुमन र टिमुरेका ७५ जनालाई मासिक रोजगारी दिएको छ तीमध्ये छ जना अधिकृतस्तरमा कार्यरत छन् । स्वस्थ्य क्षेत्रमा सहज पार्न रसुवागढी आयोजनाले टिमुरे तथा थुमनको स्वास्थ्य चौकीमा एक/एक नर्स विद्यालयका लागि दुई/दुई जना शिक्षकको व्यवस्थापन गर्नुका साथै टिमुरेको तातोपानी पोखरी निर्माण, गाउँको भित्री सडक निर्माण, फोहर डिस्पोजल एवं ट्र्याक्टर व्यवस्था, रोङ्गा थुमन १३ किमी ग्रामीण सडक र थुमनमा बौध गुम्बा निर्माण गरिसकेको छ ।
आयोजनाले जैविक विविधता संरक्षणअन्तर्गत आयोजनाका क्षेत्रमा दुई हजार ७०० बिरुवा रोपण गर्नुका साथै रोपणका लागि छ हजार बिरुवा तयारी गरिसकिएको र लाङ्टाङ राष्ट्रिय निकुञ्जको धुञ्चेस्थित कार्यालय भवन निर्माणसमेत सम्पन्न गरिसकिएको आयोजनाका वातावरणविद् साउथले जनाएका छन् । प्रभावित क्षेत्रका गाउँलाई उज्यालो पार्न टिमुरे, खैदी, थुमन, दालफेदी मेन्दो, तार्सा, लिङलिङ गाउँमा विद्युतीकरणको कामसमेत सम्पन्न गरिसकेको रसुवागढी जलविद्युत् आयोजनाले बताएको छ । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.