दार्चुलाकाे अपि हिमाल गाउँपालिका जलविद्युत्को केन्द्र बन्दै, साढे दुई अर्ब लागतमा सम्पन्न हुने अनुमान

  २०७५ मंसिर ३ गते १५:३८     विकासन्युज

काठमाडौं । सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिका जलविद्युत्को केन्द्र बन्ने भएको छ । निजी क्षेत्रबाट निर्माण हुन लागेको मकरीगाड जलविद्युत् आयोजना निर्माणको लागि दुई अर्ब पाँच करोड लागत अनुमान गरिएको छ । चमेलिया नदीको उद्गमस्थलका रुपमा रहेको अपि हिमाल गाउँपालिकालाई जलविद्युत्का माध्यमबाटै चिनाउने गाउँपालिकाको योजना छ ।

चैतभित्र अपि हिमाल गाउँपालिका– ५ मकरीगाडसम्म सडक निर्माण गरिँदैछ । सो क्षेत्रमा सन् २०१९ भित्र मकरीगाड जलविद्युत् आयोजना प्रालिले १० मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । सो आयोजनाका उपकार्यकारी निर्देशक करनबहादुर चन्दका अनुसार सो क्षेत्रका दुई परिवारलाई जग्गाको मुआब्जा वितरण गरिएको छ ।

यस्तै मङ्सिरभित्र अपि हिमाल गाउँपालिका–३ घट्टे खोलामा एक सय किलोवाट क्षमताको आयोजना निर्माण गरिँदैछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिका र विभिन्न निकायको सहयोगमा सो आयोजना निर्र्माण गर्न लागिएको हो । आयोजना बनाउन शक्ति इञ्जिनीयरिङ प्रालिसँग तीन करोड ४२ लाखको सम्झौता गरिएको उपभोक्ता समितिका अध्यक्ष नन्दनसिंह धामीले जनाएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले दुई करोड ८५ लाख सहयोग गर्नेछ, गाउँपालिकाले एक करोड ९० लाख उपलब्ध गराउने भएको छ । चालीस लाख भुक्तानी गरिसकेका गाउँपालिकाका अध्यक्ष धर्मानन्दसिंह मन्यालको भनाई छ ।
यस्तै अपि हिमाल गाउँपालिका– ३ कटेलीगाडमा १० किलोवाट क्षमताको आयोजना निर्माण थालिएको छ । सो आयोजना निर्माण गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १९ लाख, गाउँपालिकाले पाँच लाख तथा अन्य रकम प्रदेश सांसद विकास कोषबाट खर्च गरिने विद्युत् उत्पादन समितिका अध्यक्ष मदन कार्कीले बताएका छन् । सो आयोजना निर्माण गर्न ५७ लाख खर्च हुने अनुमान गरिएको छ ।

यसैगरी अपि हिमाल गाउँपालिका–६ मज्जेखोलामा एक सय किलोवाट विजुली निकाल्न बोलपत्र आह्वान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, प्रदेश सरकार तथा स्थानीय तहको सहयोगमा सो आयोजना निर्माण गर्न लागिएको निर्माण समितिका अध्यक्ष धनसिंह धामीले जनाएका छन् । गाउँपालिकाले एक करोड ७२ लाख सहयोग गरेका छन् ।

८५ मेगावाट क्षमताको माथिल्लो चमेलिया आयोजना निर्माण गर्न निजी क्षेत्रले चासो देखाएको छ । नेपाल सरकारको लगानीमा ३२ मेगावाट क्षमताको क्षत्तिगाड जलविद्युत् आयोजना निर्माणबारे अध्ययन भइरहेको छ । निजी क्षेत्रबाटै निर्माण गर्ने गरी ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया र २० मेगावाट क्षमताको तल्लो चमेलिया निर्माणबारे समेत अध्ययन भइरहेको गाउँपालिकाका अध्यक्ष मन्यालले जानकारी दिएका छन् । अपि हिमाल गाउँपालिका भएर बग्ने चमेलिया नदीसँगै क्षत्तिगाड, मकरीगाड, छुमछुम गाड, मज्जेगाडलगायत खोलाबाट विद्युत् उत्पादन गर्न सकिने अत्याधिक सम्भावना छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.