बीमा कम्पनीको सिइओ बन्ने योग्यता फेरियो, वकिल वा इन्जिनियर पनि सिइओ बन्न सक्ने

  २०७२ साउन १९ गते १२:२०     विकासन्युज

काठमाडौं, १९ साउन । बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्ने योग्यता परिवर्तन गरिएको छ । बीमा समितिले तयार पारेको बीमा ऐनको मस्यौदामा यस्तो परिवर्तन गरिएको हो ।

प्रश्तावित ऐनको मस्यौदामा कम्पनीको सिइओ बन्नको लागि बीमा, ब्यवस्थापन, वित्त, अर्थशास्त्र, बाणिज्यशास्त्र, कानुन, गणित, तथ्यांकशास्त्र, इन्जिनियरिङ्ग वा लेखा विषयमा स्नातकोत्तर वा सो सरह पास गरी ब्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तिमा ५ बर्ष र बैंक वा वित्तीय क्षेत्रमा भए कम्तिमा १० बर्षको अनुभब भएको ब्यक्ति हुनु पर्ने ब्यवस्था गरिएको छ ।

यसअघि २०६९ सालमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धि निर्देशनमा मान्यताप्राप्त शिक्षण संस्थावाट कम्तिमा स्नातकोत्तर तह उत्तिर्ण गरी कानुन बमोजिम गठन भएको संस्थाको ब्यवस्थापक वा सो सरह तहमा रही कम्तिमा १० बर्ष कार्य गरेको अनुभब हुनु पर्ने र बीमा क्षेत्रमा कम्तिमा पनि २ बर्ष काम गरेको हुनुपर्ने ब्यवस्था गरिएको थियो ।

पहिलाको ब्यवस्था अनुसार जुनसुकै विषयमा स्नातकोत्तर पास गरेको भएपनि हुने थियो भने अव तोकिएका विषय लिएर अध्ययन गरेको ब्यक्ति हुनुपर्ने थप ब्यवस्था गरिएको छ । प्रश्तावित ऐनको मस्यौदामा उल्लेख गरिए अनुसार वकिल वा इन्जिनियर पनि बीमा कम्पनीको सिइओ बन्न सक्ने छ ।

प्रश्तावित ऐनमा सिइओको कार्यअनुभव पनि परिवर्तन गरिएको छ । यसअघिको ब्यवस्थामा कानुन बमोजिम गठन भएको संस्थाको ब्यवस्थापक तहमा बसेर काम गरेको १० बर्षको अनुभब र बीमा क्षेत्रको २ बर्षको अनुभव चाहिने भनिएको थियो ।

अबको ब्यवस्था अनुसार बीमा कम्पनीको सिइओ बन्नको लागि बैंकिङ्ग वा बीमा बाहेकको क्षेत्रको अनुभवले हुने नहुने प्रष्ट पारेको छैन । प्रश्तावित ऐनको दफा ५१ मा बिमकको कार्यकारी प्रमुख सम्बन्धि ब्यवस्था गरिएको छ । सो दफामा बीमा, ब्यवस्थापन, वित्त, अर्थशास्त्र, बाणिज्यशास्त्र, कानुन, गणित, तथ्यांकशास्त्र, इन्जिनियरिङ्ग वा लेखा विषयमा स्नातकोत्तर वा सो सरह पास गरी ब्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तिमा ५ बर्ष र बैंक वा वित्तीय क्षेत्रमा भए कम्तिमा १० बर्षको अनुभब भएको ब्यक्ति हुनु पर्ने भनिएको छ ।

bikashnes.com

bikashnes.com

यसअघिको ब्यवस्थामा अन्य क्षेत्रमा ब्यवस्थापक तहमा बसेर काम गरेको भएपनि बीमा क्षेत्रको २ बर्षको अनुभवले हुने भनिएको थियो । तर अहिलेको ब्यवस्थापमा बीमा क्षेत्रमै भए ५ बर्ष र बैंक वा वित्तीय क्षेत्रमा भए १० बर्षको अनुभव भनिएको छ । यो वाहेकको क्षेत्रको अनुभव काम लाग्ने हो वा होइन भन्ने प्रष्ट छैन ।

यस्तै समितिले आफ्ना कर्मचारीलाई बीमा कम्पनीमा जागिर खान केहि कडाइ गरेको छ । प्रश्तावित ऐनमा समितिलाई प्राधिकरण बनाउने भनिएको छ भने कर्मचारीले प्राधिकरण छोडेको १ बर्षपछि मात्रै बीमा कम्पनीहरुमा जागिर खान पाउने ब्यवस्था ऐनमा गरिएको छ ।