२०७५ माघ १० गते १३:५१ विकासन्युज
काठमाडौं । रोल्पामा स्वास्थ्य बीमा गर्ने पुरुषको तुलनामा महिला बढी देखिएका छन् । जिल्लामा गत मङ्सिर १ गतेसम्म १२ हजार ८८१ ले स्वास्थ्य बीमा गरेकोमा त्यो सङ्ख्या महिलाको बढी छ । जिल्लामा सात हजार ९७ महिलाले स्वास्थ्य बीमा गरेका छन् ।
स्वास्थ्य बीमा गर्ने पुरुषको सङ्ख्या पाँच हजार ७८३ रहेको छ । जिल्लामा महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा दर्ता सहजकर्ता तोकिएका कारण विमितको सङ्ख्या पनि महिला बढी भएका हुन् । जिल्लामा स्वास्थ्य बीमा गर्नेको कूल सङ्ख्या निकै कम देखिएको छ । दुई लाख ३४ हजार जनसङ्ख्या रहेको रोल्पामा १२ हजार ८८२ ले मात्रै स्वास्थ्य बीमा गरेको बीमा बोर्ड रोल्पाका प्रतिनिधिले जानकारी दिएका छन् ।
स्वास्थ्य बीमाजस्तो महत्वपूर्ण कार्यक्रमको प्रचारप्रसार हुन नसक्दा यसको विमित बढ्न नसकेको जिल्ला स्वास्थ्य प्रमुख डा सुशील आचार्यको भनाइ छ । बीमा गर्न आफूहरुले अस्पताल आउने बिरामीसँग पनि परामर्श गर्ने गरेको डा आचार्यले बताए । बीमाका लागि खट्ने कर्मचारी, स्वयंसेवक र स्थानीय जनप्रतिनिधिको समन्वय भए स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सकिन्छ डा आचार्यको भनाई रहेको छ ।
सरकारले अति गरीबलाई निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ । जिल्लामा हाल एक हजार ७८४ अति गरीब बीमाको पहुँचमा आएको बताइएको छ । सरकारले रोल्पाका अति गरीबको बीमाबापत रु ४२ लाख ७७ हजार ४८५ भुक्तानी दिएको बताइएको छ । जिल्लामा एक हजार १२८ घरधुरीको बीमाबापत रु ३१ लाख ७५ हजार जम्मा भएको बीमा बोर्डले जानकारी दिएको छ । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.