राजकुमारीलाई उम्मेदवार बनाउन खोजेको आरोपमा थाईल्याण्डको एक पार्टी विघटन गर्ने तयारी

  २०७५ फागुन १ गते १७:०७     विकासन्युज

बैंकक । राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेको आरोप लगाउँदै थाईल्याण्डको एक पार्टीलाई विघटन गर्ने प्रक्रिया सुरु गरिएको छ । निर्वाचन आयोगले राजकुमारीलाई राजनीतिमा ल्याउन खोज्ने ‘थाई रक्षा चार्ट पार्टी’लाई विघटनका लागि प्रक्रिया अगाडि बढाएको हो ।

आयोगले पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको सो पार्टीलाई विघटनका लागि बुधबार संवैधानिक अदालतसँग सोधेको छ । रक्षा चार्टको तर्फबाट थाई राजकुमारी उबोलरतनाले केही दिन अगाडी प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेका थिए ।

उनको घोषणाप्रति उनका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए भने उनले आपत्ति जनाएपछि निर्वाचन आयोगले उनलाई उम्मेदवार बन्न आयोग्य घोषणा गरेको थियो ।

राजाको असन्तुष्टि र आयोगको निर्णयपछि राजकुमारी उबोलरतनाले पनि कमजोरी भएको स्विकार गर्दै क्षमा याचना गरेकी छन् । उनले क्षमा याचना गरेसँगै निर्वाचन आयोगले उनलाई उम्मेदवार बनाउन खोजेको पार्टीलाई विघटनको प्रक्रिया थालेको हो ।

शाही परिवारका सदस्यलाई सक्रिय राजनीतिमा संलग्न गराउन खोज्नु कानुन विपरित भएकाले त्यस्तो कार्यमा संलग्न रक्षा चार्टलाई विघटन गर्ने प्रक्रिया सुरु गर्नु परेको आयोगका अधिकारीहरुको भनाई छ । आउदो मार्च २४ मा निर्वाचन हुन लागेकाले त्यो भन्दा अगाडी नै अदालतले यस विषयमा निर्णय गर्नु पर्ने भएको छ ।

अदालतले विघटन गर्ने निर्णय गरेमा यसले शिनावात्रा परिवार र सो पार्टीले अझ लामो समय प्रतिवन्ध भोग्नु पर्ने छ भने आसन्न निर्वाचनमा भाग लिन पाउने छैन ।

सैन्य विद्रोहपछि पदच्युत भई अहिले निर्वासित जीवन विताईरहनु भएका शिनावात्रालाई अहिलेको सत्ता पक्षले निषेध गर्ने रणनीतिको रुपमा यो विषयलाई अगाडी सारेको टिप्पणी गरिएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.