२०७५ फागुन २१ गते १८:१५ विकासन्युज
काठमाडौँ । समाजबादी गणतन्त्र भियतनामका राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा समितिका सभापति एबं लेफ्टिनेन्ट जनरल भो ट्रोंग भिएत को नेतृत्वमा आएको नौ सदस्यीय प्रतिनिधि मण्डलले आज काठमाडौँमा उच्च स्तरीय भेटघाट सम्पन्न गरेको छ ।
भियतनामका लागि अवैतानिक बाणिज्यदुत राजेशकाजी श्रेष्ठको पनि सहभागिता रहेको उक्त भेटघाटको क्रममा संघीय संसदका सभामुख कृष्णबहादुर महराले दुई-देशको संसदीय मामला सम्बन्धमा सहकार्य गर्न सकिने कुरा उल्लेख गरे ।
सभामुख महराको कार्यकक्षमा भएको सो भेटमा दुई-देशको संसदका सबल पक्षहरुबाट एक-अर्का देशले सिक्न सकिने र प्रतिनिधि मण्डल आदान–प्रदानलाई अगाडी बढाउन सकिने कुरा उल्लेख गरेका थिए ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठसंग भएको भेटमा उनले भियतनामको प्रतिनिधि मण्डललाई भेटेर आफु प्रसन्न रहेको बताइन् । दुई-पक्षीय छलफलबाट भियतनामको राज्य-व्यवस्था लगाएत सुरक्षा मामला सम्बन्धि आफु अपडेट हुन पाएको कुरा उनले बताइन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासंग भएको एक अर्को भेटमा अध्यक्ष तिमिल्सिनाले भियतनामको शाशकीय पद्दति तथा संसद्को व्यवस्था र नेपालको संघीय व्यवस्थाबाट एक-अर्का देशले सिक्न सक्ने कुरा उल्लेख गरे । महाशक्तिसंगको युद्धबाट अघि बढेर भियतनामले अर्थतन्त्र, विकास र सुरक्षाको क्षेत्रमा हाशिल गरेको प्रगति प्रशंशनीय रहेको कुरा समेत तिमिल्सिनाले बताए ।
त्यस्तै, गृहमन्त्री रामबहादुर थापाले उक्त प्रतिनिधि मण्डलसंग कुरा गर्दै नेपालमा भियतनामबाट लगानी बृद्धि हुने आशा व्यक्त गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.