अर्थमन्त्री खतिवडाले गरे नेपाल ईन्फ्रास्टक्चर बैंकको औपचारिक शुभारम्भ, आजैदेखि कारोबार शुरु

  २०७५ फागुन २२ गते १४:३३     विकासन्युज


काठमाडौ । नेपाल ईन्फ्रास्टक्चर बैंककोऔपचारिक शुभारम्भ भएको छ । बुधबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बैंकको औपचारिक शुभारम्भ गरेका हुन् । बैंकका अध्यक्ष अनुज अग्रवालको सभापतित्वमा भएको शुभारम्भ समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालको उपस्थिति थियो ।

सोही कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा तथा अल्पकालीन लगानीको बातावरण अन्त्य गर्न ईन्फ्रास्टक्चर बैंकले भूमिका खेल्नु पर्ने बताए । यस्तै, विषेश अतिथि गभर्नर चिरञ्जिवी नेपालले लामो अन्तरतराल र धेरै ठूलो मेहनतपछि स्थापित भएको बैंकले फरक रुपमा पूर्वाधार विकासमा काम गर्नु जरुरी रहेकोमा जोड दिए ।

४० अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको बैंकले नविकरणीय उर्जा, पर्यटन विशेष आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधि लगायतका विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको बैंकका अध्यक्ष अग्रवालले बताए ।

बैंक शुभारम्भ कार्यक्रमलाई समापन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले आगामी दिनमा ७ वटै प्रदेशमा पुग्ने बैंकको लक्ष्य रहेको बताए । औपचारिक शुभारम्भसँगै बैंकले आजैदेखि कारोबार शुरू गरेको छ । यही माघ २८ गते नेपाल राष्ट्र बैंकले सञ्चालन अनुमति प्रदान गरेको थियो । बैंकमा नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली रहेका छन् । यस्तै, निर्देशक बोर्डमा चेयरम्यान अनुज अग्रवाल र निर्देशकको रुपमा चन्द्रप्रसाद ढकाल, लालमणी जोशी, नुमनाथ पौडेल, मुकुन्दप्रसाद पौडेल रहने बैंकले जनाएको छ । राजधानीस्थित कृष्ण टावरमा बैंकको केन्द्रीय कार्यालय रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.