२०७५ चैत ३ गते १७:१३ विकासन्युज
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको व्यवसायिक प्रतिनिधि मण्डलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवास खुमलटारमा भेट गरेको छ ।
महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल, वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी र सदस्यहरू समेत सहभागी रहेको प्रतिनिधि मण्डलले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको निवासमा केही दिन अघि भएको विस्फोट र त्यसपछि उत्पन्न व्यवसायिक सुरक्षाका विषयमा ध्यानाकर्षण गराएको थियो ।
प्रतिनिधि मण्डलको तर्फबाट महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले अहिले व्यवसाय गर्ने वातावरण असजिलो भैरहेको बताए । लगानी सम्मेलन नजिकिदै गरेको अवस्थामा देशमा घटिरहेका विभिन्न किसिमका घटनाहरूले व्यावसायीहरू त्रसित भइरहेको उनले जानकारी गराए । महासंघका उपाध्यक्ष ढकालले सुरक्षा लगायत विभिन्न कारणले वैदेशिक रोजगार व्यवसाय संचालन गर्न कठिनाई परेको जानकारी गराए ।
सो भेटवार्ताका क्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङले घटनाबारे विस्तृत जानकारी गराउनु हुदै व्यवसाय संचालनमा समस्या भैरहेको बताए । भेटका अवसरमा प्रतिनिधि मण्डलका सदस्यहरूबाट व्यवसाय सुरक्षाको प्रत्याभुति हुनुपर्ने, व्यवसाय गर्न वातावरण सुधार गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।
सो अवसरमा नेकपाका अध्यक्ष दाहालले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट समेत समस्याको विषयमा संबोधन गर्ने प्रयास भैरहेको जानकारी गराए । सरकार व्यवसाय र व्यवसायीहरूको व्यवसायिक सुरक्षाको निमित्त सदैव संवेदनशील रहेको बताउनु हुदै व्यवसायीहरूको नोक्सानीको क्षतिपूर्ति दिलाउनका लागि पनि सरकारस“ग छलफल गर्ने आश्वासन दिएका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.