२०७५ चैत १२ गते ८:५२ विकासन्युज
काठमाडौं । काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्ग बनाउने नेपाल पूर्वाधार विकास कम्पनीको सञ्चालक समिति विघटन भएको छ । चैत ९ गते सम्पन्न कम्पनीको बिशेष साधारण सभाले ९ सदस्यीय सञ्चालका समिति गठन गरेर ३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । बिशेष साधारण सभाले गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्ट, सुभाषचन्द्र ठकुरी र नविल कँडेल सहभागी रहेको तदर्थ समिति गठन गरेको हो ।
भट्टलाई अध्यक्ष तोकेको बिशेष साधारण सभाले ठूला लगानीकर्ताका तर्फबाट अन्य २ जनालाई तदर्थ समितिमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । ‘९ सदस्यीय सञ्चालक समिति विघटन गरेर ३ सदस्यीय तदर्थ समिति गठन गरेका छौं, ठुला लगानीकर्ताका तर्फबाट २ जना थप गरिनेछ’, तदर्थ समितिका सदस्य सुभाषचन्द्र ठकुरीले विकासन्युजसँग भने ।
बिशेष साधारण सभाको निर्णयसँगै नेपाल पूर्वाधार विकास कम्पनीबाट संस्थापक अध्यक्ष कुश कुमार जोशी, पूर्व अध्यक्ष लाल कृष्ण केसी, नुगल आनन्द वैद्य, जयराम लामिछाने, सुकुन्तलाल हिराचन र भुवनलाल श्रेष्ठ बाहिरिएका छन् । बिशेष साधारण सभाले पावर चाइना कम्पनीसँग जोइन्ट भेञ्चर कम्पनी स्थापना गरेर सुरुङ मार्ग निर्माणको कामलाई अघि बढाउने निर्णय समेत गरेको छ । त्यसका लागि आगामी असार १४ गते साधारण सभा बोलाउने निर्णय पनि बिशेष साधारण सभाले गरेको छ ।
यस्ता छन् बिशेष साधारण सभाका अन्य निर्णय
नेपाल पूर्वाधार विकास कम्पनीको बिशेष साधारण सभाले कम्पनीको लेखा परिक्षक नियुक्त गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ । त्यस्तै, पावर चाइनासँग ज्वाइन्ट भेञ्चर कम्पनी स्थापनाका लागि सरकारसँग सहमति माग्ने, आन्तरिक र संस्थागत लगानी खोज्ने, जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
निर्माणका लागि आवश्यक समिति र संरचनाहरु निर्माण गर्ने, ट्रयाक ओपन लगायतका निर्माण कार्य गर्न अघि पूर्व तयारीका काम सम्पन्न गर्ने लगायतका निर्णय गरेको ठकुरीले जानकारी दिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.