बजेटलाई स्वागत गर्यो सेयर बजारले, खुलेको ८ मिनेटमै ३४ अंकले बढ्यो

  २०७६ जेठ १६ गते ११:१५     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्ष २०६६/२०६७ को बजेटलाई सेयर बजारले हरियो रङ देखाएर स्वागत गरेको छ । बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार खुल्न नपाउँदै नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नियमित बजार खुलेको ८ मिनेटकाे अवधिमै नेप्से परिसूचक ३४.४३ अंकले बढेर १३४८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६२ प्रतिशतले बढी हो ।

सोही अवधिमा कूल १२ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकको छ । ७१ कम्पनीको सेयर कारोबार भइसकेको छ । सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ ।

त्यस्तै, कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सोही अवधिमा १० समूहको सेयर कारोबार भएको छ । सो मध्ये प्राय सबैसमूहको सूचक दोहोरो अंकले उकालो लागेका छन् ।

नयाँ बजेट सेयर बजारप्रति सकारात्मक भएपछि नेप्से एकाएक उकालो लागेको हो । पूँजीगत लाभकरले २.५ प्रतिशतले घटेर ५ अंकमा झरेकोले सेयरलगानीकर्ताहरु उत्साहित भएका हुन् ।