२०७६ असार १ गते १४:४४ विकासन्युज
वि.स २०३९ सालमा स्याङ्जा जिल्ला मलाङकोटमा जन्मिएर शिव हमाल, सानै देखि गीत संगीतको माहोलमा हुर्किएका हुन् । पछिल्लो समय नेपाली लोकगीत संगीतको क्षेत्रमा चर्चित हमाल नेपाली हिन्दु महिलाहरुको महान् चाड तीजलाई लक्षित गरी गीत सिर्जना गर्न तल्लीन छन् । उनै गायक हमालसँग गीतसंगीतको बारेमा विकासन्युजका लागि सुनिता पुडासैनीले गरेको कुराकानी:
तपाईँको बाल्यकाल कस्तो रह्यो र गीत संगीतको क्षेत्रमा कसरी लाग्नु भयो ?
साधारण परिवारमा जन्मेको म । मेरो बुबाआमा खेतिकिसानी गर्नु हुन्थ्यो यसरी नै मध्य वर्गीय जीन्दगी वितिरहेको थियो । अनि मेरो गाउँबेशी, डाँडाकाडा, उकाली ओराली, चौतारी, घाँसदाउरा, मेलापात गर्दाको समयदेखि त्यो सांगीतिक माहोल जहाँ मेरा रहेका पाइला पाइलामा संगीत गुन्जियो । घर परिवारका सदस्यको हौसलाले यस क्षेत्रमा प्रवेश गरे । २०५७ सालमा एसएलसी सकेपछि मेरो मामा राजेन्द्र लम्साल रेडियो नेपालको बरिष्ठ गायक भएकै कारण पनि यस क्षेत्रमा प्रेरित भएँ । जब विस २०६० सालमा काठमाडौं आए, त्यसपछिको समय बिना संघर्ष केहि हुँदै भनि म यस क्षेत्रमा अनौपचारिक रुपमा लागे । विशेष गरी काठमाडौं बसाईको सुरुवातमा दोहोरी साँझमा प्रस्तुती दिएको थिएँ ।
तपाईँले हालसम्म कति वटा गीतसंगीत सिर्जना गर्नु भयो र कुन चाँही साच्चै राम्रो गर्नुभयो ?
१२ सय भन्दा बढी गीत तथा संगीतको रचना गरेको छु । पछिल्लो समय ‘लालु मै’ ले नयाँ परिचय बनाएपनि मेरो पछाडी २०६४ सालमा ‘मन परेको फुल खसेको’, २०६५ सालमा ‘देउरालीको भट्टी पसल’, २०६६ सालमा ‘पछ्यौरी लेउ बईना’, २०६७ सालमा ‘रक्षा गर हरी’, २०६८ साल देखि ‘पारेऊ मलाई रुन मायालु’, ‘सानु कहाँ छौं’, ‘हाँस्न सिकायौं’, ‘कस्लाई सोध्ने होला’ आदि गीतहरुले मलाई चिनाएका हुन् ।
गीत संगीतको क्षेत्रमा आफूलाई कहाँ पाउनु हुन्छ ?
विस २०६१ सालदेखि यस क्षेत्रमा निरन्तर रुपमा आफ्ना सिर्जना प्रस्तुत आएको छु, अहिले अलि गहिराईमा डुब्दैछु । त्यो समय जहाँ मेरा धेरै सिर्जनामा केहिले मात्र बजार जमाए भने हाल सबै सिर्जनाहरु जसले प्रफुल्लित बनाएपनि अझै यस क्षेत्रमा जति गर्नु पर्ने हो त्यति गर्न सकिन कि जस्तो आभाष हुने गर्छ । त्यसैले अझै म मेरो सन्तुष्टि हुन सकिरहेको छैन ।
पछिल्लो समय यूट्युब बजारलाई कसरी व्याख्या गर्नु हुन्छ, कस्तो छ आम्दानी ?
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यूट्युब च्यानलहरुको बिस्तारको क्रम बढ्दो छ । सर्जक कलाकारदेखि सर्वसाधारण मानिसहरुको यूट्युब प्रतिको झुकाव दिन प्रतिदिन बढ्दै गएको छ । राम्रो सिर्जना जसले समाजलाई पारदर्शी रुपमा प्रस्तुत गर्छ र हरेक शब्द शब्दमा समाज, संस्कृति, सभ्यता, प्रकृति, सौन्दर्यलाई प्रष्ट रुपमा समायोजन गरि प्रस्तुत गर्छ भने त्यो सिर्जनाले यूट्यूबमा मात्र नभई सबै माझ लोकप्रिय हुन्छ । त्यसकारण यो प्रष्ट हुनु पर्छ कि समाजको चरित्रलाई दुरुस्तै उतारेर निर्माण गरिएका गीत संगीतले उत्कृष्ट बन्न सफल हुन्छ । खास कस्तो यूट्यूब च्यानल हो, कस्ले कहिले खोल्यो भन्ने कुरामापनि निर्भर रहन्छ । त्यसैले राम्रो सिर्जना उत्पादनपछि सामान्य कलाकार गाडी चढेर हिड्न सक्ने अवस्थामा पुग्न सक्छ । कलाकार तथा सर्जकहरुलाई साधारण जिन्दगी बाच्नका लागि यूट्यूबबाट गाह्रो हुँदैन ।
तीज नजिक आउँदै गर्दा कतिको व्यस्त हुनु हुन्छ ?
व्यस्त छु, हरेक दिन कुनै पर्व विशेष नभई जुनसुकै समयमा काममा तल्लिन रहने गर्छु । अब केहि दिनमा नै नयाँ गीत ‘सिलौटोमा लसुन’ आउँदै छ । त्यस पछिको समय भनेको तीजका रचना गर्न एवम् रेकर्डिङ्का लागि समय छुट्याएको छु । कामको भार बढ्दो छ, तर यो त्यो भन्ने नै छैन ।
कस्तो अवस्थामा गीत, संगीतको सिर्जना गर्न सहज हुन्छ ?
गन्तव्यको हरेक मोडमा गीत तथा संगीत भित्र हराउँन सक्छु । कुनै यात्रा गर्दै गर्दा किन नहोस्, बिहानीको घामको किरणदेखि त्यो जुनेली एवम् अन्धकार रातमा जुनसुकै बेला समय र परिस्थिति अनुसार गीत तथा संगीतको रचना गर्न सकिन्छ । त्यस्तो कुनै समयावधि हुँदैन्, कुन बेलामा कस्तो सृर्जना गरिन्छ कहिले कँही आफुलाई थाहा हुँदैन ।
तपाई, प्रस्तोता समाजको अध्यक्ष भईरहँदा के छ यहाँ भित्रका गतिविधि, के उद्देश्यले स्थापना भयो ?
अब कलाकारहरु स्टेजमा गीत गाएर मात्र बाँच्दैनन् । मेला महोत्सव लामो समयसम्म टिक्दैन, त्यसकारण कलाकार लामो समयसम्म बाँच्नका लागि उसको आयस्रोत भनेको रोयल टी हो । सर्जक, स्रष्टा भनेको एउटा उत्पादक हो जसले गीत उपभोग गरे वापत सरकारी निकायले प्रदान गर्ने रकम रोयल टी हो । हरेक स्थान जस्तै मेला महोत्सव, सार्वजनिक यातायात, विभिन्न संघसंस्थाले प्रयोग गरे वापत आय बुझाउनु पर्ने नीति रहेको छ । जसमा हालसम्म यातायातबाट ३ करोड उठेको छ । गायन, वाद्यवाधन, अभिनय, नृत्य आदिको प्रस्तुतिमा सक्रिय भई आफ्नो सिर्जना रोयल्टी प्राप्त गर्ने व्यक्ति तथा संस्थासँग प्रतिलिपि अधिकार सम्बद्ध अधिकार लिई त्यस्ता अधिकारहरु प्रयोग गर्न दिने र प्रस्तोताहरुको अधिकार संरक्षण र सम्वद्र्धन गर्न यसको उद्देश्य रहेको छ ।
यस क्षेत्रमा आउँदै गरेका व्यक्तिहरु लागि के भन्नु हुन्छ ?
संघर्ष गरी संगीत क्षेत्रमा आफुलाई स्थापित गर्छु है भन्ने सोचका साथ आउने सबै व्यक्तिका लागि यस क्षेत्रमापनि केहि छ भन्छु , किन कि राम्रो सिर्जनाको कमी हुँदै जाँदाको यस समयमा धेरै यहाँ धेरै अवसर सिर्जना भएका छन् । जसको कारण क्षेत्रमा लाग्नु हुने सबैलाई सकारात्मक सोच र कर्मप्रति उत्तरदायी भई काम गर्दा नेपाली संगीतको बजार वृहत रहन्छ भन्ने कुरा स्पष्ट रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.