हेटौँडा उपमहानगरले ल्यायो १ अर्ब ८१ करोडको बजेट, ‘फूलैफूलको सहर बनाइने’

  २०७६ असार १० गते १४:२८     विकासन्युज


हेटौंडा । प्रदेश नम्बर ३ को अस्थायी राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी आव २०७६/०७७ को लागि एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकका अवसरमा बजेट प्रस्तुत गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले प्रस्तुत गरेको बजेटमा आन्तरिक श्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख ९ हजार रुपैयाँ, प्रदेश ३ सरकारको बिभीन्न अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँको बजेट ल्याइएको हो । त्यसैगरी संघिय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ । उपमहानगरपालिकाको गतबर्षको नगद मौजदातबाट १० करोड रुपैयाँ बेहोरिने उपप्रमुख लामाले बताइन् ।

बजेटमा दैनिक कार्यालय सञ्चालनका लागि तलब, भत्ता लगायत अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार रुपैयाँ बिनियोजित गरिएको छ । कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार रुपैयाँ छुट्याइएको छ । नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि ५८ करोड ५५ लाख ४३ हजार रुपैयाँ छुट्याइएको छ ।

उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएर काम गर्न लागिएको उपप्रमुख लामाले बताइन् । त्यसैगरी हेटौंडालाई सफा, हरियाली, फूलैफूलको सहर निर्माणको कामलाई प्राथमिकता दिइएको छ । यता, हेटौंडा उपमहनागरपालिकाका मेयर हरिबहादुर महतले आफुहरुको कामको गति छिटो भएको तर त्यस अनुसार कानून नभएकाले समस्या सृजना भएको बताए ।

हेटौंडामा सडक फराकिलो बनाउने कामसंगै फूलै फूलको शहरका रुपमा विकास गर्नका लागि आफू लागि परेको बताउँदै मेयर महतले भने–‘हामै्र परिकल्पनाबाट निर्माण शुरु भएको सहिद स्मारक अहिलेको अवस्थामा पुग्यो । हेटौंडा बजारमा हरियाली भयो अब भने फूलै फूलको शहरका रुपमा विकास गर्न चाहन्छौ ।’ पाँच बर्षको कार्यकालमा हेटौंडालाई नमूना शहरका रुपमा विकास गरिने उनले बताए ।

यता, हेटौँडा उपमहानगरको नगर सभामा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा बजार क्षेत्र १६ मिटर वा २५ मिटर भत्किएपनि अब बजारलाई नयाँ रुप दिइने बताए । बजार क्षेत्रका घरहरु भत्किएपछी एकै प्रकारका घर, एउटै रङ् लगाउने र हेटौंडालाई थप नयाँ रुप दिइने बताए । हेटौंडा बजारमा एउटै प्रकृतिको नयाँ रुप दिनका लागि प्रदेश सरकारले अनुदान समेत दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.