यसरी बाँढिदैछ चीनले उपहारमा दिएको १० लाख लिटर पेट्रोल !

  २०७२ कार्तिक १७ गते १४:२२     विकासन्युज

काठमाडौं, १७ कात्तिक । भारतीय नाका बन्दीसँगै रन्थनिएको नेपालले आफ्नो मुलुकसँग पेट्रोलियम पदार्थको कारोबार गर्ने घोषणा गरेसँगै चीनले उपहारस्वरुप दिने भनेको एक हजार मेट्रिक टन अर्थात १० लाख लिटर पेट्रोल नेपाल धमाधम नेपाल भित्रिरहेको छ ।

Bikashnews.com
१० लाख लिटरमध्ये सोमबार ९७ हजार नौ सय लिटर पेट्रोल नेपाल आयल निगमको थानकोट डिपोमा पुगिसकेको छ भने मंगलबार थप तीन ट्यांकर पेट्रोल थानकोट आईपुग्दैछन् । औषतमा एउटा ट्यांकरले ९ हजार लिटर पेट्रोल बोकिरहेका छन् । त्यस आधारमा मंगलबार थप २७ हजार लिटर पेट्रोल थानकोट डिपोमा आईपुग्नेछन् ।

चीनले उपहारस्वरुप दिएको पेट्रोलको केहि अंश राजधानी प्रवेश गरेसँगै नेपाल आयल निगमले निजी कार र मोटरसाईकललाई पेट्रोल बाँढ्ने तालिका सार्वजनिक गर्यो । चीनले १० लाख लिटर पेट्रोल अनुदानमा दिँदैछ भने निगमले तीन दिनमा ९ लाख लिटर पेट्रोल वितरण गर्दैछ ।
दशैं अघि एक दिन मात्रै निजी सवारी साधनलाई पेट्रोल उपलब्ध गराएको निगमले तालिका बनाएर लगातार तीन दिनसम्म पेट्रोल बाँढ्ने तयारी गरेको हो । रसुवामा रहेका निगम प्रवक्ता दिपक बरालका अनुसार बढिमा १० दिन भित्र चीनले अनुदानमा दिएको पेट्रोल नेपाल आईसक्नेछ ।

मंगलबार थप १५ ट्यांकर पेट्रोल नेपाल प्रवेश गर्ने उनले जानकारी दिए । ती ट्यांकर बुधबार साँझसम्म थानकोट डिपोसम्म आईसक्नेछन् ।
यसरी चीनले उपहारस्वरुप दिएको पेट्रोल राजधानी भित्रिएकै दिन नेपाल आयल निगमले नीजि सवारी साधनलाई पेट्रोल दिने तालिका सार्वजनिक गर्यो । भारतबाट पेट्रोलियम पदार्थ आयातमा अवरोध भएसँगै सरकारले चीनसँग पेट्रोलियम पदार्थको कारोबार सम्झौता गरिसकेको छ । सोही सम्झौता गरेको खुसियालीमा चीनले नेपाललाई एक हजार मेट्रिक टन अर्थात १० लाख लिटर पेट्रोल उपहारस्वरुप दिने बताएको थियो ।

कसरी बाँढिदैछ उपहारको पेट्रोल ?
नेपाल आयल निगमले बिहिबारदेखि एकदेखि ३० लटका मोटरसाईकल र एक देखि ५ लटसम्म दर्ता नम्बर भएका कारहरुलाई पेट्रोल उपलब्ध गराउनेछ । शुक्रबार ३१ देखि ५० लटसम्मका मोटरसाईकल तथा ६ देखि ९ लटसम्म दर्ता भएका कारलाई पेट्रोल उपलब्ध गराउनेछ । अन्तिम दिन अर्थात शनिबार भने ५० लट भन्दा माथिका मोटरसाईकल र ९ लटमाथिका कारलाई पेट्रोल उपलब्ध गराउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.