२०७६ असार २९ गते १४:२५ विकासन्युज
बागलुङ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यो वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गरेको छ ।
आज यहाँ आयोजित २०६औँ भानुजयन्ती समारोहमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उनलाई रु दश हजार नगदसहित सो पुरस्कारबाट सम्मान गरेको हो ।
नेपाली भाषा, साहित्यको उत्थानमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए ।
नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठका ‘जीवन र विज्ञान’ जीवनी, ‘जिजिविषामा बाँच्ने मान्छेहरु’ कविता, हाइकु सङ्ग्रह ‘ट्राफिक जाम’ लगायतका कृति प्रकाशित छन् ।
बागलुङ घर भई हाल बेल्जियममा बस्ने कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वतीको स्मृतिमा स्थापित पुरस्कारबाट पुरस्कृत हुनेमा श्रेष्ठ पाँचौं प्रतिभामा परेका छन्।
पुरस्कार ग्रहणपछि बोल्दै साहित्यकार श्रेष्ठले भाषा, साहित्यको क्षेत्रमा थप क्रियाशील हुन पुरस्कारले उत्प्रेरणा थपेको प्रतिक्रिया दिए । नगरप्रमुख पौडेलले कुनै पनि समाज त्यहाँको कला, साहित्य र संस्कृतिबाट नै सभ्य तथा सुसंस्कृत हुने बताउँछन् । उनले साहित्य क्षेत्रको विकासमा नगरपालिका सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
विसं २०७२ मा स्थापित पुरस्कारबाट यसअघि पर्वतका साहित्यकार नारायण आचार्य, पाल्पाका पुष्कर ‘अथक’ रेग्मी, चितवनका ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ र बागलुङका प्रकाश समीर पुरस्कृत भइसकेका छन् ।
भानु जयन्तीका अवसरमा प्रतिष्ठानले कविता गोष्ठी, भानु चित्र लेखनलगायतका कार्यक्रम गरेको छ । आदिकवि भानुभक्तको व्यक्तित्व र योगदानबारे धवलागिरि बहुमुखी क्याम्पसका उप–प्राध्यापक हरिप्रसाद पाण्डेयले प्रकाश पारेका थिए । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.