२०७६ साउन १४ गते १३:०७ विकासन्युज
काठमाडौं । कुनै पनि कम्पनीले आफ्ना कर्मचारीको स्वास्थ्य तथा दुर्घटना बीमा गर्दा बीमा शुल्कमा अभिवृद्धि कर (भ्याट) छुट हुने वा नहुनेमा अन्यौलता छाएको छ । यसअघि १०० रुपैयाँ बीमा शुल्क लाग्थ्यो भने सरकारले दिएको भ्याट छुट सुविधा प्रयोग गर्दा ८८ रुपैयाँ ४८ पैसा मात्र तिरे पुग्छ ।
सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत स्वास्थ्य बीमा, दुर्घटना बीमा र पुर्नबीमा शुल्कमा भ्याट छुट दिने जनाएको छ । यो व्यवस्था यहि साउन १ गतेदेखि बीमा कम्पनीहरुलाई लागू भएको छ ।
स्वास्थ्य बीमा र दुर्घटना बीमा शुल्कमा भ्याट लाग्ने व्यवस्था व्यक्तिको हकमा मात्र लागू हुने हो कि कम्पनीको हदमा पनि लागू हुने भन्ने द्विविधा भएको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलवल्लभ पन्तले बताए । सरकारले दिएको भ्याट छुट सुविधा व्यक्तिलाई मात्र हुन सक्ने, कम्पनीलाई नहुन सक्ने पन्तको बुझाइछ ।
तर, बीमा कम्पनीहरुले व्यक्तिलाई मात्र नभई संस्थालाई पनि भ्याट छुट दिएर बीमा लेख तथा बिल जारी गरिरहेको सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बीमक संघका महासचिव चंकी कुँवर क्षेत्रीले बताए ।
‘संस्थाको नाममा जारी हुने स्वास्थ्य तथा दुर्घटना बीमा पोलिसीमा भ्याट छुट नहुने भनेर सरकारको नीतिमा प्रष्ट छैन । तर, कम्पनीहरुले कर्मचारीको सामूहिक बीमा गराउँदा पनि भ्याट छुट दिएर पोलिसी जारी गरेका छन्’ उनले भने–‘पछि कर कार्यालयले समाउँछ कि, कम्पनीको नाममा जारी गरेको पोलिसीमा भ्याट लाग्छ भन्ने हो कि भन्ने चिन्ता बीमा कम्पनीहरुलाई छ ।’
यस विषयमा कर कार्यालयका अधिकारीहरु पनि प्रष्ट देखिएनन् । आन्तरिक राजश्व विभागका उपमहानर्देशक यज्ञप्रसाद ढुंगेलले यस विषयमा आन्तरिक छलफल गरेपछि प्रष्ट पारिने बताए । ‘स्वास्थ्य बीमा र दुर्घटना बीमामा भ्याट छुट व्यक्तिलाई मात्र कि कम्पनीलाई पनि भन्ने तपाईको प्रश्नको ठ्याक्कै जवाफ दिन मिलेन । आर्थिक ऐनमा जे लेखिएको छ त्यहि लागू हुन्छ । त्यसको कार्यान्वयनको क्रममा केही द्विविधा देखिए भने हामी आन्तरिक रुपमा पनि छलफल गर्छौ । सरोकारवालासँग पनि छलफल गर्छौ र त्यसको व्याख्या गछौं ।’ बीमा कम्पनीहरुलाई परेको द्विविधाबारे आफू पूर्ण जानकार नभएको उनले बताए ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले कम्पनीले सामूहिक रुपमा स्वास्थ्य र दुर्घटना बीमा गराउँदा पनि भ्याट लागू नहुने बताए । ‘यस्तो बीमा विगतमा जीवन बीमा कम्पनीमा गर्नेले भ्याट तिर्नु पर्दैन थियो । अब निर्जीवन बीमा कम्पनीबाट गराउँदा पनि भ्याट छुट पाइन्छ’ उनले भने ।
यस्तो हुन्छ हिसाव
कर्मचारीको बीमा गराउँदा लाग्ने बीमा शुल्क सम्बन्धित कम्पनीले तिर्ने गर्छ । बीमा कम्पनीले पनि कम्पनीको नाममा बीमा लेख जारी गर्छ र कम्पनीकै नाममा विल जारी गर्छ ।
कर्मचारीलाई स्वास्थ्य बीमा र दुर्घटना बीमा सुविधा दिने कम्पनीहरु प्रया भ्याटमा दर्ता हुने गरेका छन् । यस्ता कम्पनीहरुले खरिद गर्दा तिरेको भ्याट रकम बिक्री गर्दा उठाएको भ्याट रकममा कट्टा गरी कर कार्यालयमा भुक्तानी गर्छन । त्यसैले कर्मचारीको बीमा गराउने कम्पनीको लागि भ्याट छुट हुनु र नहुनुमा कुनै लाभ वा हानी हुन्न । मात्र, सरकारीले राजश्व गुमाउने जानकारहरु बताउँछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.