प्रभु इन्स्योरेन्स २४ औँ वर्षमा, ‘अघिल्लो आवको भन्दा १३ प्रतिशत व्यवसाय बृद्धि’

  २०७६ साउन १९ गते १०:४५     विकासन्युज

काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेडको २३ औँ बार्षिक साधारण सभा तथा २४ औं बार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । तिनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा सम्पन्न भएको बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को आर्थिक प्रतिवेदन पारित गरेको छ ।

साथै श्रावण १७ गते देखि कम्पनी स्थापनाको २३ औँ बर्ष पूरा गरी २४ औँ बर्षमा प्रवेश गरेको छ । २४ औँ स्थापना दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले निर्जीबन बीमा कम्पनीहरु मध्ये प्रभु इन्स्योरेन्सको संस्थागत सुशासन अब्बल रहेको बताए ।

‘व्यवसायको तुलनामा दावी भुक्तानी न्यून रहेको तथा अन्य परिसूचकहरु राम्रो रहेकोले कम्पनीको अवस्था धेरै राम्रो रहेको छ’–उनले भने । सोही कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले गत आर्थिक वर्ष २०७५/०७६ मा बीमा क्षेत्रले धेरै राम्रो प्रगति गर्न सकेको बताउँदै बिगत वर्ष बीमाको पहुँच ६÷७ प्रतिशत जनतामा रहेकोमा आव २०७५/०७६ मा १९ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको बताउँदै मुलुकको कूल गार्हस्थ उत्पादनमा बीमाक्षेत्रको योगदान २ प्रतिशत रहेको बताए ।

साथै बीमा कम्पनीको पूँजी बृद्धिको लागि तोकिएको समय सीमा समाप्त भएकोले अब तोकिएको चुक्ता पुँजी पुर्याउन नसक्ने कम्पनीको लागि कुनै पनि समय सीमा थप नगर्ने तथा पुँजी बृद्धि गर्न असफल कम्पनीहरुलाई स्पष्टिकरण सोधिसकिएको बताए । बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको बृत्ति बिकासको लागि सबै बीमा कम्पनी तथा बीमा समितिको सहकार्यमा बीमा तालिम केन्द्र स्थापना गरिसकिएको उनले बताए ।

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनी बीमा समितिको मार्गदर्शनमा अगाडि बढिरहेको बताउँदै कम्पनीले बीमाको बिकासको लागि नयाँ-नयाँ प्रोडक्टहरुको शुरुवात गर्न लागेको बताइन् । सोका लागि नियामनकारी निकायको सदैव सहयोगको आवश्यकता रहेको छ–उनले बताइन् ।

साथै कम्पनीका सञ्चालक राजेन्द्र मल्लले पुनर्बीमा सम्वन्धी सम्पूर्ण कारोवार मुलुक भित्र नहुने हुनाले अझै पनि ठूलो रकम बिदेशिने गरेकोले नेपालमा रहेको पुनर्बीमा कम्पनीलाई अझ मजबुत बनाउन आग्रह गरे ।

कम्पनीको बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत व्यवसाय बृद्धि गरेकोे बताए । ग्राहकहरुको सुविधाको क्यासलेस दावी भुक्तानीको सेवा ७ वटै प्रदेशमा बिस्तार गरिसकिएको तथा ग्राहकलाई बीमालेख तथा दावी सम्वन्धी जानकारी दिनको लागि अनलाइन सिस्टकको बिकास गरेको बताउँदै आगामी दिनमा थप शाखा सञ्जाल बिस्तार गर्दै लगिने बताए ।

हाल कम्पनीको चुक्ता पूजी रु. १ अर्व ५० लाख ७६ हजार रहेको छ । केन्द्रीय कार्यालय सहित ५० भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.