२०७६ साउन १९ गते १७:३९ विकासन्युज
काठमाडौँ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले थाइल्याण्डमा हालै सम्पन्न नवौं थाइल्याण्ड ओपन कराँते च्याम्पियनशिपका पदक बिजेता खेलाडीलाई आइतबार काठमाण्डौमा नगद पुरस्कारसहित सम्मान गरेको छ । महाराजगञ्जस्थित एक्सपर्टको शाखा कार्यालयमा आयोजित कार्यक्रममा सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक जित्न सफल सबिना श्रेष्ठ, रजत पदक विजेता सोमी राई तथा कास्य पदक विजेताहरू राजकुमार रसाईली र अनिश लामिछानेलाई सम्मान गरिएको हो ।
स्वर्ण पदक विजेता श्रेष्ठलाई नगद ७ हजार रूपैयाँ, रजत पदक विजेता राईलाई ५ हजार रूपैयाँ तथा काश्य पदक विजेता रसाईली र लामिछानेलाई जनही ४ हजार रूपैयाँ, प्रमाणपत्र तथा अन्य उपहार प्रदान गरिएको हो । सो अवसरमा खेलाडीका प्रशिक्षकहरूलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, काठमाण्डौ महानगरपालिका ३ का वडाअध्यक्ष दीपक केसी, टोखा नगरपालिका ७ का वडाअध्यक्ष नरोत्तम राना, एक्सपर्ट फाउन्डेशनका अध्यक्ष देवीप्रसाद लम्साल लगायतको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै टोखा नगरपालिकाका प्रमुख अधिकारीले एक्सपर्टले व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राष्ट्रका लागि पदक जित्ने खेलाडीलाई सम्मान गरेकोमा धन्यवाद तथा आभार व्यक्त गरे । त्यसैगरी कामपा ३ का वडाध्यक्ष केसीले एक्सपर्टले नेपाली खेल क्षेत्रको प्रवर्द्धन र खेलाडीहरूको हौसला बढाउन गर्दै आएको कार्य निजी क्षेत्रसहित सबैका लागि अनुकरणीय रहेको उल्लेख गर्दै एक्सपर्टलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा एक्सपर्ट फाउन्डेशनका अध्यक्ष लम्सालले फाउण्डेशनले देशभर सामाजिक क्षेत्रमा गरेको कार्यको संक्षिप्त विवरण प्रस्तुत गरे ।
एक्सपर्ट महाराजगञ्जका निर्देशक जयराम अर्यालले पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्न पाउँदा आफूहरूलाई गर्व लागेको उल्लेख गरे । उनले पछिल्लो ५ वर्षयता क्रिकेट, फुटबल कराँतेसहित अन्य खेलकुद र खेलाडीहरूको क्षमता विकासमा एक्सपर्टले उदार मनले सहयोग गरिरहेको भन्दै आगामी दिनमा त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा सम्मानित खेलाडीहरूले राज्यका निकायले खासै चासो नदिएपनि एक्सपर्टले गरेको सम्मानबाट आफूहरु अत्यन्त खुशी भएको र हौसला मिलेको उल्लेख गरे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.