२०७६ भदौ ४ गते १३:३४ विकासन्युज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आफ्नो स्वामित्वमा रहेको मध्ये करीब २० प्रतिशत सेयर तीन संस्थागतले खरिद गरेका छन् ।
नेप्सेमा रहेको राष्ट्र बैंकको सेयर कर्मचारी सञ्चय कोष, लक्ष्मी बैंक र प्रभु बैंकले खरिद गरेका हुन् । सेयर खरिदका लागि ३ संगठित संस्थाले गोप्य शिलबन्दी बोलपत्र पेश गरेका थिए । बुधबार ती तीन संस्थालाई सेयर बिक्री गरिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।
राष्ट्र बैंकले आफ्नो स्वामित्वमा नेप्सेमा रहेको १७ लाख २९ हजार ९८९ कित्ता सेयर असार ३१ गतेदेखि भदौ २ गतेसम्म बिक्रीका लागि खुला गरेको थियो । शिलबन्दी बोलपत्र बुधबार खोलिएको हो ।
राष्ट्र बैंकले १०० रुपैयाँ अंकित दरमा लगानी गरेको नेप्सेको सेयरलाई ९३२ रुपैयाँ प्रिमियम सहित न्यूनतम १०३२ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा लिलामी बिक्रीमा राखेको हो । सबै शेयर बेच्दा राष्ट्र बैंकले कम्तिमा एक अर्ब ७१ करोड ६१ लाख प्रिमियम संकलन गर्ने जनाइएको छ । गत मंसिरमा नै राष्ट्र बैंकले नेप्सेलाई पत्र लेखेर आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीका लागि सहजीकरण गर्न आग्रह गरेको थियो ।
पचास करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआईडीसीको ६.१२ प्रतिशत र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) को ०.६२ प्रतिशत सेयर स्वामित्व रहेको छ । आफ्नो स्वामित्वमा रहेको करीब २० प्रतिशत सेयर बिक्री गरेको र अब बाँकी १४ प्रतिशत सेयर बिक्रीका लागि पुनः लिलामीमा राख्ने कि के गर्ने भन्ने बारेमा छलफल गरिने प्रवक्ता निरौलाले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.