२०७६ भदौ ४ गते १९:५६ विकासन्युज
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानीका लागि जापान सरकारलाई आग्रह गरेका छन् । आफूसँग आज शिष्टाचार भेटवार्ताका लागि पुग्नुभएका नेपालका लागि जापानी राजदूत मासामिची साइगोसँग मन्त्री पुनले सो आग्रह गरेका हुन् ।
मन्त्री पुनले जाजरकोटमा आयोजनास्थल रहेको ४१० मेगावाट क्षमताको नलगाड जलविद्युत् परियोजना प्रादेशिक सन्तुलनका हिसाबले पनि महत्वपूर्ण रहेको भन्दै सो परियोजनालाई अघि बढाउने विषयमा छलफल गरेका थिए ।
उनले जापान र नेपालबीच पुरानो र मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनालगायत अन्य परियोजनामा उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिएका थिए । हाल नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम जारी रहेको छ ।
मन्त्री पुनले जापान नेपालको भरपर्दो विकास साझेदारमुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागि उपयुक्त वातावरण बनेकोले थप लगानीको वातावरण बनाइदिन र सोही प्रकारको सन्देश प्रवाह गरिदिन आग्रह गरेका थिए ।
भेटमा जापानी राजदूतले नलगाड आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा निर्माणका लागि अध्यययन गरिरहेको बताएका थिए । जापानी राजदूतले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि राम्रो वातावरण बनेको सुखद् समाचार सुनेको भन्दै जापानमासमेत लगानीका लागि आग्रह गर्ने बताएको मन्त्री पुनको सचिवालयले जनाएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.