चिनियाँलाई लगानी गर्न आह्वान, नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक

  २०७६ भदौ २२ गते ८:५२     विकासन्युज


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताएका छन् ।

काठमाडौँस्थित चिनियाँ राजदूतावासले शनिबार आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा मन्त्री भट्टराईले नेपालको राजनीतिक सङ्क्रमण अन्त्य भई लगानीको वातावरण निर्माण हुँदै गएकाले चिनियाँ उद्योगपति तथा व्यापारीलाई लगानी गर्न आह्वान गरे । उनले सामाजिक पूर्वाधार तथा समृद्धिका विभिन्न क्षेत्रमा नेपाललाई चीनले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सन् २०२० मा नेपालमा हुन गइरहेको भ्रमण वर्षमा चिनियाँ पर्यटकको उल्लेखनीय आगमन हुनेमा नेपाल सरकार विश्वस्त रहेको बताए ।

नेपाल भ्रमण वर्ष २०२० मा चिनियाँ नागरिकका लागि नेपालले प्रवेशाज्ञा शुल्क मिनाह गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा लगानीको वातावरण सुनिश्चित गर्न सरकार सक्षम रहेको बताए । उनले चिनियाँ नागरिकलाई ढुक्क भई नेपालमा लगानी गर्न आह्वान गरे । सङ्घीयताको सफल कार्यान्वयनका कारण सबै तहका निर्वाचन सम्पन्न भइसकेकाले नेपालको समृद्धिको चाहनालाई पूरा गर्न चीन र चिनियाँ जनतासँग आग्रह गरिएको मन्त्री यादवले बताए ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चीन र नेपाल सरकारका बीचमा आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनस्तरमा न्यानो सम्बन्ध स्थापित भएको बताए । उनले नेपाल, चीन सरकार र चिनियाँ जनतासँग नजिक रहेर काम गर्न इच्छुक रहेको बताए । नेपालको गरीबी अन्त्यका लागि चीन सरकारले लगानीको प्रमुख गन्तव्य नेपाललाई रोज्नुपर्ने उनको भनाइ थियो ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चिनियाँ व्यापारी तथा उद्योगपतिलाई लगानी बोर्ड नेपालका कार्यकारी निर्देशकको परामर्शमा लगानी गर्न आग्रह गरे । उनले प्रदेश ५ ले औद्योगिक शहरको विकास गर्न एक हजार तीन सय रोपनी जग्गा छुट्टाएको जानकारी दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ऊर्जा उत्पादनका लागि गण्डकी क्षेत्र उर्बर रहेकाले चिनियाँ उद्योगपतिलाई लगानी गर्न आग्रह गरे । उनले गण्डकी प्रदेश सरकारले कावासोतीमा १६० हेक्टर जमीन औद्योगिक ग्रामका लागि छुट्टाइएको जानकारी दिए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले चिया, रुद्राक्ष र अलैँची उत्पादनमा लगानी गर्न आग्रह गर्नुभएको छ । उनले औद्योगिक क्षेत्रको विकासका लागि ७८० रोपनी तथा आधुनिक कृषि क्षेत्रको विकासका लागि एक हजार ४० रोपनी जमीन प्रदेश सरकारले छुट्टाएको बताए । किमाथान्का, ओलाङचुङ्गोला र सोलुखुम्बुको नाङपाला नाका सञ्चालनमा ल्याइनुपर्ने उनले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जडीबुटी, औषधि, रत्नपथ्थर, जैविक मल कारखाना, मारवल कारखाना, सिमेन्ट उद्योग र कृषि क्षेत्रमा लगानी गर्न आह्वान गरे ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, ऊर्जा तथा जलस्रोतका क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरे । नेपाल–चीन व्यापारसम्बन्धी फोरमका कार्यकारी अध्यक्ष फान जियाबाओले नेपालका लिच्छविकालीन राजा अंशुवर्माकी छोरी भृकुटी र तत्कालीन तिब्बतका राजा श्रङचङ गम्पोसँगको सांस्कृतिक सम्बन्धपछि नेपालसँग चीनको पारस्पारिक सम्बन्ध विस्तार हँुदै गएको चर्चा गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.