२०७६ भदौ ३० गते १०:२७ विकासन्युज
काठमाडौं । बीमा समितिले म्यादी बीमा पुलमार्फत गर्ने व्यवस्था गरेपछि पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धामा कमी आएको छ । समितिले केही मापदण्ड राखेर म्यादी बीमा गराउँदै आएपछि बजार थप मर्यादित बन्दै गएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने–‘हामीले बीमा क्षेत्रमा सुधार गर्न समय अनुसार काम गर्दै आएका छौँ, अहिले म्यादी बीमाले पनि बजारमा राम्रै प्रभाव पारेको छ ।’
बीमा समितिले वैदेशिक रोजगारमा जानेहरूको म्यादी बीमामा सहजता ल्याउँन २०७५ साल माघ १७ गते म्यादी बीमा पुल मार्फत गर्ने सुरुवात गरेको थियो । पुल मार्फत हुने बीमामा बीमा कम्पनीहरूले समितिले तोकेको अनुपातमा बीमा शुल्क बाडेर लिने गरेका छन् ।
यस्तो छ म्यादी बीमाको प्रकृयाः
बीमा समितिले म्यादी बीमा सम्पूर्ण जीवन बीमा कम्पनीहरूको लागि व्यवसाय गर्न सक्नेगरी ल्याएको हो । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको संख्या १९ भएपनि पुलमा भने १७ वटा बीमा कम्पनीहरूले मात्र कारोवार गर्दै आएका छन् ।
लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल र मेट लाईफ इन्स्योरेन्स कम्पनीले पुलमा सहभागिता जनाएका छैनन् । कम्पनीहरूले हाल समितिले निर्धारण गरेको पोर्टफोलियोमा जान आवश्यक नमानेकाले सहभागिता नजनाएको बीमा समितिले जनाएको छ ।
के हो त बीमा पुल ?
बीमा पुल भनेको वैदेशिक रोजगारमा जाँदा अनिवार्य रुपमा गरिने एक प्रकारको बीमा हो । उक्त बीमाको अवधि छोटो समयको लागि नै हुन्छ । बीमा समितिले नेपाल सरकारसँग सहकार्य गरेर म्यादी बीमाका लागि केही महसुल तोकेको छ ।
अहिले जीवन बीमा गरेर बाहिर जानेहरूको संख्या ५ लाख नाघेको छ । एक जनाले ३४ सय सम्म तिर्ने भएकाले हाल सो पुलमार्फतमात्रै करिब दुई अर्ब रुपैयाँभन्दा बढी उठ्ने बीमा समितिले बताएको छ ।
४ वटा फोकल कम्पनीले बीमा गराउने
बीमा पुललाई संचालन गर्नको लागि ४ वटा फोकल कम्पनीहरू रहेका छन् । फोकल कम्पनीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, रिलायव लाईफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आगामी वर्ष सो कम्पनीको स्थानमा अन्य कम्पनी रहने किसिमले सम्झौता गरिएको छ ।
यस्ता छन् ४ फोकल कम्पनीहरूले गर्ने कार्य
४ कम्पनीहरूले जीवन बीमा कम्पनीहरूको तर्फबाट बीमा गराउने कार्यमा सहजीकरण गर्ने छन् ।
आर्जन भएको बीमा शुल्क बीमा कम्पनीले बाँटफाँट गरेर लिन पाउने छन् । कम्पनीहरूले बीमा शुल्क बाड्दा आफ्नो विजनेशलाई आधार बनाउन पाउने छन् ।
पुलमा रहेका बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्कको बाँटफाँट गर्दा आफ्नो लगानी अनुसार १ देखि १६ प्रतिशतको आधारमा कस्ले कति पाउने भनेर तोकिएको छ । यसरी गरिएको सम्झौता १ वर्ष कायम रहने छ । आगामी वर्षमा भने सम्झौतामा आवश्यकता अनुसार हेरफेर गरिने बीमा समितिको तर्क छ ।
बीमा पुल ल्याउनुको आवश्यकता
बीमा समितिले बीमा पुलको योजना ल्याउनु अघि वैदेशिक रोजगारमा जानेहरूको बीमा गराउन कम्पनीहरूले तानातान गर्दै आएका थिए । सोही तानातानको क्रममा केही बिचौलियाहरू समेत बीमा क्षेत्रमा हावी भएको जानकारहरूले बताएका छन् । यस्तो अवस्थामा बीमा शुल्कमा कसैले धेरै तथा कसैले थोरै लिने गरेका थिए । यस्ता कुराले बीमा क्षेत्रमा असर नपुर्याओस भन्ने उदेश्यलेपनि पुलको स्थापना गरियो ।
बीमा समिति भन्छ अहिले बजार सुधारात्मक छ
बीमा समितिले पुलको स्थापना पश्चात म्यादी बीमामा समेत सुधार भएको बताएको छ । हाल नियामक बीमा समितिलाई पनि आफ्नो नियमनमा सहज भएको पाइएको छ । बीमा समितिका अनुसार–बीमा क्षेत्रमा हामीले पुलको सुरुवात गरेपछि हाल अस्वस्थ प्रतिस्पर्धाको बारेमा बजारमा चर्चा हुन छाडेको छ । सोही बीमा बजार मर्यादित बन्दै गएको समितिको विश्वास छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.