२०७६ असोज २ गते १३:१२ विकासन्युज
काठमाडौं । यस वर्षको राष्ट्रिय विज्ञान पुरस्कार साइन्स इन्फोटेक अनलाइनका प्रधानसम्पादक गोपाल भण्डारी र एबिसी टेलिभिजनकी समाचार वाचिका सन्तोषी अधिकारीलाई दान गरिएको छ ।
पत्रकारद्वय भण्डारी र अधिकारीले विज्ञान र प्रविधिका क्षेत्रमा पत्रकारिताका माध्यमबाट उल्लेखनीय योगदान पुर्याएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनही रु १५ हजार पुरस्कार सहित सम्मान गरेको हो ।
पुरस्कृत भण्डारी एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न छन् । उनका विभिन्न विषयका १२ पुस्तक, आठ अनुसन्धानात्मक प्रतिवेदन ‘वैज्ञानिक जगत्’ नामक जर्लनमा प्रकाशित हुनाका साथै विभिन्न अनलाइन तथा पत्रपत्रिकामा पनि एक हजारभन्दा बढी लेख प्रकाशित भएका छन् ।
त्यसैगरी, पत्रकार अधिकारी पनि विगत १४ वर्षदेखि विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका छन् । उनका विज्ञानसँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक लेख र रचना प्रकाशित छन् । यस वर्षको राष्ट्रिय विज्ञान दिवसको नारा ‘विज्ञान, प्रविधि र नवप्रवर्तन र सामाजिक आर्थिक रुपान्तरण’ तय गरिएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.