प्रभु बैंकको नाफा बढ्ने, हाथवेले किन्यो लैनचौरको प्रभु भवन

  २०७२ पुष १ गते १०:४७     विकासन्युज

काठमाडौं, १ पुस । चालु आर्थिक बर्षमा प्रभु बैंकको नाफा उल्लेख्य रुपमा बढ्ने भएको छ । बैंकको स्वामित्वमा रहेको लैनचौरको प्रभु भवन विक्री भएकोले बैंकको गैर संचालन नाफा बढ्ने देखिएको हो ।

सो भवन हाथवे इन्भेष्टमेन्ट कम्पनीले किन्न लागेको छ । बैंकले सो जग्गा र भवन विक्री गर्नको लागि तीन पटक टेण्डर आव्हान गरिसकेको छ । पछिल्लो टेण्डरमा हाथवेले सवैभन्दा बढी रकम दिने प्रश्ताव गरेको थियो ।

हाथवेले १८ करोड रुपैयाँभन्दा बढीको प्रश्ताव गरेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । सो घर जग्गा हाथवेले खरिद गर्ने पक्कापक्की जस्तै भएपनि मालपोतवाट पास भने भएको छैन । केहि दिन भित्रमा घरजग्गा पास गरिने बैंकको भनाइ छ ।

लैनचौरको सो जग्गामा भवन बनाएर प्रभु फाइनान्स कम्पनी बसेको थियो । पछि सो कम्पनी स्तरोन्नति भएर प्रभु विकास बैंक हुदाँ पनि सोही भवनमा रहेको थियो । पछि प्रभु विकास बैंक र तत्कालिन किष्ट बैंक मर्जर भएर प्रभु बैंक बनेपछि बैंकको प्रधान कार्यालय तत्कालिन किष्ट बैंकको अनामनगरमा रहेको कार्यालयलाई बनाइएको थियो ।

गत १२ बैशाखको भूकम्प पछि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय क्षतिग्रस्त बनेपछि राष्ट्र बैंकका केहि विभागहरु सोही भवनमा भाडामा बसेका छन् ।

सो भवनको क्षेत्रफल ३० हजार स्क्यार फिट रहेको छ । जग्गा १९ आना रहेको छ ।

बैंकले सो घरजग्गा साथै अन्य स्थानका जग्गा पनि विक्री गर्ने तयारी गरेको छ । बैंकले विराटनगर, चितवन र काठमाडौंको अनामनगरमा रहेको जग्गा विक्रीको तयारी गरेको प्रमुख कार्यकारी अधिकृत शेरचनले जानकारी दिए ।

जग्गा विक्री भएपछि बैंकको गैरसंचालन नाफा बृद्धि हुनेछ । लैनचौरको घरजग्गा विक्रीवाट प्राप्त हुने १८ करोड रुपैयाँभन्दा बढीको आम्दानी गैरसंचालन नाफामा गणना हुनेछ । यस्तै चितवन, विराटनगर र अनामनगरको जग्गा विक्री भएमा बैंकको नाफा अझै धेरै हुनेछ ।

बैंकले गत असोज मसान्तसम्ममा २६ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.