२०७६ असोज २५ गते २०:११ विकासन्युज
महाबलीपुरम । चीनले भारतमा आफ्नो फाइभ–जी नेटवर्क विस्तार गर्ने प्रस्ताव गरेकाे छ । भारत भ्रमणकाे क्रममा चीनका राष्ट्रपति सी चिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस्ताे प्रस्ताव गरेका हुन् ।
चिनियाँ नेताको दुई दिने भारत भ्रमणको दोस्रो दिन चेन्नईको दक्षिणमा रहेको ऐतिहासिक ताज फिशरम्यान कोव रिसोर्टमा दुइ नेताबीच लामाे गाेप्य वार्ता भएकाे छ । जनसङ्ख्याका हिसाबले विश्वका दुई ठूला मुलुकबीच देखिँदै आएका समस्यालाई कम गर्दै जाने बिषयमा उक्त वार्ता केन्द्रीत भएकाे छ ।
वार्तामा अमेरिकासँग संरक्षणवादी नीति लिएका दुवै मुलुकले आपसी बजारका लागि समेत व्यापक पहुँच विस्तार गर्ने सहमति भएको बताइएको छ ।
दुई नेताबीच विगत १८ महिनामा भएको यो दोस्रो भेटवार्ता हो । उनीहरूबीच करिब डेढ बर्ष पहिले चीनको उहानमा भएको शिखर सम्मेलनका प्रतिवद्धतालाई कार्यान्वयन गर्न इमान्दार प्रयास जारी राख्ने सहमति भएको छ ।
“भेटवार्तामा दुवै पक्षले विवेकसम्मतरूपमा कुनै पनि बिषयमा रहेका मतभिन्नतालाई व्यवस्थापन गर्ने सहमति बनेको छ,” भारत सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतीय प्रधानमन्त्री मोदीले भने, “उहान सम्मेलनले हाम्रो सम्बन्धमा नयाँ स्वरूप र बढ्दो स्थायित्व प्रदान गरेको छ । हाम्रो चेन्नई दृष्टिले चीन र भारतबीच सहकार्यको नयाँ युगको थालनी गरेको छ ।”
राष्ट्रपति सीले सम्मेलनका प्रतिनिधिमण्डलसँग आफ्नो मन्तव्य राख्दै आफू र भारतीय प्रधानमन्त्री मोदीबीच मित्रका हिसाबले खुला दिलले छलफल गरेको बताए । चीन–भारत उच्चस्तरीय आर्थिक व्यापारिक वार्ता प्रणालीको स्थापनाका आधारमा आर्थिक विकासको रणनीतिक सम्पर्कलाई अझ प्रबर्द्धन गर्नुपर्ने र उद्योग व्यवसायको साझेदारी सम्बन्धको स्थापनाबारे छलफल गर्नुपर्ने धारणा राष्ट्रपति सीले राखेका छन् ।
भारतीय औषधी र सूचना उद्योग व्यवसायहरूमा चीनलाई लगानी लगाउन प्रधानमन्त्री मोदीले स्वागत व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले चीनसँगको वास्तविक सहकार्यलाई अझ बढी गहन पार्न भारत इच्छुक रहेको बताउनुका साथै चिनियाँ उद्योग व्यवसायहरूलाई भारतीय उद्योगमा लगानीका लागि अह्वान गरे । एएफपी/रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.