आरएमडीसी लघुवित्तले बढायो लाभांश दर, बोनस र नगद बराबर

  २०७६ कार्तिक ७ गते १४:५६     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.५ प्रतिशत बोनस र १२.५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांशदर अघिल्लो वर्षको भन्दा ५ प्रतिशत बढी हो । संस्थाले अघिल्लो वर्ष १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश(बराबर) दिएको थियो ।

कात्तिक ७ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट हालको सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ७९ करोड ९३ लाख रुपैयाँ रहेको छ । १२.५ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ८९ करोड ९३ लाख रुपैयाँ(अर्थात करिब ९० करोड रुपैयाँ) नाघ्ने छ ।