कलंकी-कोटेश्वर सडकमा जोखिम बढ्दै, यात्रुले भत्काउन थाले रेलिङ

  २०७६ कार्तिक १७ गते ९:२६     राजाराम न्यौपाने

काठमाडौँ । कलंकी–कोटेश्वर सडक हेर्दा जति सुन्दर, सुविधाजनक र अत्याधुनिक देखिन्छ, प्रयोगका हिसाबले उति नै जोखिमपूर्ण बन्दै गएको छ । चीन सरकारको सहयोगमा बनेको उक्त सडक १ वर्ष अघि नेपाल सरकालाई हस्तान्तरण गरेको हो ।

केही वर्ष अघिसम्म अस्तव्यस्त रहेको कलंकी कोटेश्वर सडक अहिले आठ लेनको बनेको छ । सडक हेर्दा सुन्दर देखिन्छ । तर, व्यवस्थापन राम्ररी हुन नसक्दा पैदलयात्रु र सवारी चालकहरुले सास्ती खेप्दै आएका छन् । सडकमा पैदलयात्रुहरुलाई सडक वारपार गर्दा दुर्घटना बढ्दै गएपछि यात्रुहरुले सडकको बीचमा भएको रेलिङ भत्काउन थालेका छन् ।

चीन सरकारले ५ वर्ष लगाएर निर्माण पूरा गरेको सडक २०७५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक बिस्तार र निर्माणमा सहयोग गरेको थियो । २७ किलोमिटर लामो चक्रपथको सडक खण्ड मध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड सरकारलाई हस्तान्तरण गरिसकेको छ भने कलंकी, चाबहिल हुँदै कोटेश्वरसम्मको सडक निर्माण शुरु गरेको छ । ड्यूटीमा खटिएका एक ट्राफिक प्रहरीले भने–‘यात्रुहरुले भत्काएको रेलिङ केही समयमा नै निर्माण हुनेछ ।’

आठ लेनको कोटेश्वर–कलंकी सडक तीन भागमा बाँडिएको छ । बीचमा चार लेनको एक्सप्रेस वे छ । जहाँ ५० किमि प्रतिघन्टाको गतिमा सवारी चल्छन् । दायाँ–बायाँ दुई–दुई लेनका सहायक सडक छन्, जसमा २० किमि प्रतिघन्टाको गतिमा सवारी चल्छन् । त्यसपछि दुवैतर्फ सर्भिस लेन पनि रहेको छ ।

कलंकी–कोटेश्वर सडक निर्माण भए पछि सडक जाम त कम भएको छ । तर सो सडकमा आवश्यता अनुसार जेब्राक्रसिङ नहुँदा सर्वसाधारणहरुले सास्ती खेप्दै आएका छन् । सानेपामा बाटो कटेर वारी आएका चरिकोटका हरि केसीले भने–बाटोमा जेब्राक्रसिङ नहुँदा बाटो काट्दा मरिन्छ कि बाचिन्छ कुनै भर छैन् ।’ बाटो बनिसके पछि गाडीहरु स्पीडमा चल्ने गरेको छ ।

सडक प्रयोगकर्ताहरुले जेब्राक्रसिङ र आकाश पुल नहुँदा कठिनाई भोग्नु परिरहेको छ । कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु र कलंकीमा मात्र जेब्रा क्रसिङ राखिएको छ । त्यस्तै, कोटेश्वर, बिएन्डबी अस्पताल अगाडि र बागडोलमा आकाशे पुल बनाइएको छ । १०.३९ किलोमिटर सडकमा यो पर्याप्त नभएको विज्ञहरु बताउँछन् ।

जेब्राक्रसिङ र आकाश पुल मात्रै हैन यो सडकमा पर्याप्त मात्रामा बस बिसौनी बनाइएको छैन । कोटेश्वर, ग्वार्को, बिएन्डबी अगाडि, चापागाउँ दोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना, बल्खु र कलंकीमा मात्र बस बिसौनी बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.