२ अर्ब लागतमा रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण शुरू, साढे दुई वर्षमा सक्ने लक्ष्य

  २०७६ मंसिर ११ गते १४:४४     विकासन्युज

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीको टिमुरेमा सुख्खा बन्दरगाहको निर्माण शुरु भएको छ । वैदेशिक व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले बन्दरगाहको निर्माण शुरु भएको हो ।
निर्माण थालेको साढे दुई वर्षमा बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

बन्दरगाह निर्माणको जिम्मा तिब्बेत फुली कन्ट्रक्सन ग्रुप कम्पनीले पाएको छ । कम्पनी र नेपाल इन्टरमोडेल यातायात विकास समितिबीच २९ वैशाख २०७६ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

करिब १२ करोड ४० लाख चिनियाँ युआन (करिब २ अर्ब रुपैयाँ) लागतमा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको हो । यसका लागि चीन सरकारले आर्थिक सहयोग गरेको छ । ८ दशमलब ५ हेक्टर क्षेत्रफलमा बन्ने बन्दरगाहमा मुख्य भवनसहित भन्सार, क्वारेन्टाइन, बैंक, ल्याब, सुरक्षा निकायका कार्यालय रहने छन् । यहाँ एकै पटक तीन सयभन्दा बढी ट्रक–कन्टेनर राख्न सक्ने पार्किङ बनाइनेछ ।

“चीनसँगको व्यापार विस्तारका लागि रसुवा अहिले सरकारको प्राथमिकतामा परेको छ”, नेपाल इन्टरमोडेल यातायात विकास समितिका प्राविधिक इञ्जिनीयर प्रमोद आचार्यले भने, चीन सरकारको सहयोगअन्तर्गत टिमुरेगाउँमुनि भोटेकोशी नदीको तटीय क्षेत्र र आसपासका भिरालो कान्ला जमिनसमेत उपभोग गरी ३५० वटा मालबाहक कन्टेनर अट्ने क्षमताको सुक्खा बन्दरगाह निर्माण कार्य शुरु भएको हो ।”

यही मङ्सिर ५ गतेदेखि तीव्र रूपमा काम अगाडि बढिसकेको उनले बताएका छन् । गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेको आधार इलाकामा सुक्खा बन्दरगाहमा ढलानवाला मैदान तयारी गर्ने र सामान परीक्षण गर्ने स्थलको नजिक पाँच हजार वर्गमिटर क्षेत्रफलमा पाँच तल्ले भवन, दुई हजार ८० वर्गमिटर क्षेत्रफलमा सामान जाँचपास केन्द्र र ७५० वर्गमिटर भूभागमा सामान भण्डारणको गोदामसमेत संरचना निर्माण हुने बताइएको छ ।

सुक्खा बन्दरगाह भोटेकोशीको तटीय क्षेत्रमा भएकाले वर्षायामको पानीको बाहव व्यवस्थापन गर्न पानी एकत्रितका लागि नदीको डिलमा पूरै मेशिनरी पर्खाल लगाइने डिजायन भएको इञ्जिनीयर आचार्यले जानकारी दिए । निर्माण कार्य सम्पन्न गर्न आवश्यक मेशिनरी उपकरणसहित ३२ चिनियाँ नागरिक संलग्न रहेको नेपाली प्राविधिकले बताएका छन् ।

नेपाल इन्टरमोडल बोर्डको जिम्मेवारी भने सुक्खा बन्दगाह निर्माणमा चिनियाँ ठेकेदार कम्पनीलाई निर्वाध रूपले काम गर्ने वातावरण बनाउन सघाउने, चिनियाँ नागरिक कामदारको भिसा थप गर्न सहयोग गर्ने र निर्माणमा आइपर्ने विविध समस्या समाधानमा सहजीकरण गर्नेलगायत जिम्मेवारी समितिले पाएको इञ्जिनीयर आचार्यले जानकारी दिएका छन्। रासस