बीमा कम्पनीले उचाले शेयर बजार, नेप्से दोहोरो अंकले बढ्दा ७६ करोडको कारोबार

  २०७६ मंसिर २६ गते १५:३३     विकासन्युज

काठमाडौं । बीमा कम्पनीले बिहीबारको शेयर बजार उचालेका छन् । जीवन र निर्जीवन बीमा दुबै समूह त्रिपल डिजीटले उकालो लाग्दा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । बिहीबार सबैभन्दा बढी निर्जीवन बीमा समूह ३३२ अंकले बढेको छ भने जीवन बीमा समूह २७८ अंकले उकालो लागेको छ ।

समग्रमा बिहीबारको परिसूचक ११.१७ अंकले उकालो लागेर ११७२.६४ अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.९६ प्रतिशत बढी हो ।

बजारमा परिसूचक मात्र नभई शेयर कारोबार रकममा पनि उच्च सुधार भएको छ । बिहीबारको बजारमा कूल ७६ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जुन बुधबारको तुलनामा २१ करोड २६ लाख रुपैयाँले बढी हो । बुधबारको बजारमा ५५ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

बिहीबारको बजारमा १६८ कम्पनीको २१ लाख २ हजार ०६१ कित्ता शेयर किनबेच भएका छन् । जसमध्ये स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ८ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ४ करोड, एनएमबि बैंकको ३ करोड ७६ लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएका छन् । बुधबारको जस्तै बिहीबारको बजारमा पनि बढी कारोबारको गर्नेको टप टेनको लिष्टमा १० वटै कम्पनीको एक करोडभन्दा माथिको शेयर किनबेच भएको छ ।