२०७६ मंसिर ३० गते १५:३८ विकासन्युज
काठमाडौं । सोमबारको शेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट भएको छ । सो दिन उतारचढाव देखिएको परिसूचक बजार बन्द हुँदा १३.७५ अंकले ओरालो लागेर ११५४.११ अंकमा अडिएको छ । जुन आइतबारको तुलनामा १.१८ प्रतिशतले घटी हो ।
बजारमा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । सो दिन कूल १६६ कम्पनीको ४० करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी एनएमबि बैंकको ४ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २ करोड ३४ लाख, एनआईसी एशिया बैंकको एक करोड ९५ लाख, नेपाल बैंकको एक करोड ४९ लाख, बेष्ट फाइनान्सको एक करोड ३६ लाख(प्रमोटर शेयर) र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बाँकी कम्पनीको एक करोडभन्दा कम शेयर कारोबार भएको छ ।
सोमबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । निर्जीवन बीमा र बीमा समूह क्रिपल डिजिट क्रमशः १७२ र १३६ अंकले ओरालो लागेका छन् । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, उत्पादनमूलक, अन्य र माइक्रोफाइनान्स समूह दोहोरो अंकले घटेका छन् भने बाँकी समूह सामान्य एकल अंकले ओरालो लागेका छन् ।
बजारमा दिब्यश्वरी र यूनियन हाइड्रोपावरको शेयर मूल्य क्रमशः ५.४५ र ५ प्रतिशतले बढेको छ । सबैभन्दा बढी हिमालयन पावर पार्टनरको शेयर मूल्य ९.४९ प्रतिशतले घटेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.