झापामा ४ अर्ब लगानीमा ३ सय शैयाको क्यान्सर अस्पताल, अब धाउनुपर्दैन काठमाडौं-भारत

  २०७६ पुष १७ गते १०:३६     विकासन्युज

काठमाडौं । करिब ४ अर्ब लगानीमा झापाका बिर्तामोडमा ३ सय शैयाको क्यान्सर अस्पताल संचालनमा आएको छ । पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लक्षित गर्दै  बिर्तामोडमा पूर्वान्चल क्यान्सर अस्पताल बुधबारदेखि संचालनमा आएको हो ।

बिर्तामोडस्थित बी एण्ड सी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका हुन् । पूर्वाञ्चल क्षेत्रमा क्यान्सरको उपचार हुने यो पहिलो अस्पताल हो।

अत्याधुनिक उपकरण सहित बी एण्ड सी टिचिङ अस्पताल परिसरभित्रै अस्पताल संचालनमा ल्याईएको हो । सुरुवाती चरणमा अस्पताल १ सय शैया मात्र संचालनमा ल्याईएको र फागुनबाट पूर्ण रुपमा ३ सय शैया संचालन आउने निर्देशक प्रसाईले जानकारी दिए ।

अस्पतालमा रेडियो थेरापी, पेट सिटिस्क्यान, थ्रिडी मेमोग्रामलगायतका अत्याधुनिक उपकरणबाट क्यान्सरको उपचार हुने उनले बताएका छन् । आफूहरुले संचालनमा ल्याएको मेसिनमध्ये टुयुबिम मेसिन र पेट सिटिस्क्यान नेपालमै पहिलोपल्ट संचालनमा ल्याईएको उनले दाबी गरे ।

अस्पताल पूर्ण रुपमा संचालनमा आउँदा १ हजार जनाले प्रत्यक्ष रोजगार पाउने प्रसाईले बताए ।

अस्पातलको अध्यक्षमा ईन्दिरा गिरी, प्रमुख कार्यकारी अधिकृतमा डा.निराजन प्रसाई र मेडिकल डिरेक्टरमा क्यान्सर रोग विशेषज्ञ डा. विरेन्द्र यादव रहेका छन् ।

भारतको मेदान्त अस्पतालमा ४ वर्ष काम गरेर फर्केका डा. विरेन्द्र यादवले अब पुर्वका क्यान्सर बिरामीहरुले भारत तथा काठमाडौंसम्म पनि धाएर दुःख पाउनु नपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.