२०७६ पुष २१ गते १६:१० विकासन्युज
काठमाडौं । न्यू बुटवल सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हालैमात्र नेपाल र भारतबीच सहमति भएको न्यू बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन जोड्ने सवस्टशेन निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको हो ।
नेपाल र भारतबीच गत असोज २६ र २७ गते भारतको बैङ्गलोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकले उक्त प्रसारण लाइनमा समान हिस्सा रहने सहमति भएको छ । प्रसारण लाइन निर्माणको प्रक्रिया शुरु हुनुभन्दा अगावै सवस्टेशन निर्माण सम्पन्न हुने भएको छ ।
हाल २२० केभी क्षमतामा निर्माण सकिन लागेको उक्त सवस्टेशन आन्तरिक विद्युत् वितरण तथा व्यवस्थापनका लागि रणनीतिक महत्वको छ । सो सवस्टशेन निर्माण सकिएपछि भैरहवा र बुटवल आसपासको क्षेत्रमा थप विद्युत् उपलब्ध गराउन मार्ग प्रशस्त हुनेछ ।
थप विद्युत् माग गरिरहेका उद्योगी तथा व्यवसायीलाई सहज रुपमा उच्च भोल्टेजको विद्युत् दिन मार्ग प्रशस्त हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
नवलपरासीको सुनवलमा २२०÷१३२ केभी न्यू बुटवल र चितवनको भण्डारामा पूर्वी चितवन १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुवै सवस्टेसनको निर्माण आगामी चैत्रभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।
कार्यकारी निर्देशक घिसिङले धैरै समय लाग्ने अधिकांश सिभिल संरचनाको निर्माण सकिएकाले कुनै अवरोध नआएमा तोकिएकै समयमा काम सम्पन्न हुने अवस्था देखिएको जानकारी दिए । आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिसँग निर्माण प्रगति, बेहोरिएका समस्याबारेमा जानकारी लिँदै उनले तोकिएकै समयमा काम सक्न निर्देशन दिए ।
“सवस्टेसनको जग हालिएको छ, अधिकांश उपकरण आयोजनास्थलमा आइसकेका छन् भने केही आउने क्रममा छन्, अब उपकरण जडानको काम मात्रै बाँकी छ । बाँकी सिभिल संरचनाको काम सक्न र उपकरण जडानको कामलाई तीव्र पार्न आवश्यक निर्देशन दिइएको छ”, कार्यकारी निर्देशक घिसिङले भने “तेकिएकै समयमा सम्पन्न गर्न देखिएका समस्या समाधान गर्न प्राधिकरणले गर्नुेपर्ने काम र सहजीकरण गर्न तदारुकताका साथ गरिरहेका छौँ ।”
मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत, द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सवस्टेसनको निर्माण गरिएको हो ।
भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले चैत भित्रमा सवस्टेसन ‘चार्ज’ गर्ने प्रतिबद्धता जनाएको छ । निर्माणमा १ सय बढी कामदार आयोजनास्थलमा खटिएका छन् । कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन हुँदै न्यू बुटवल सवस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।
नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल सवस्टेसनबाट शुरु हुनेछ । नेपाल र भारतबीच विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ । करिब २० बिगाहा जमिनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सवस्टेसन पछिको दोस्रो ठूलो विद्युत् हब हुनेछ ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा बुटवलमा ४०० केभीको अर्को सवस्टेसन बन्ने छ । एमसीसीले तनहुँको दमौलीबाट न्यू बुटवलसम्म ४०० केभी प्रसारण लाइन निर्माण गर्नेछ । बर्दघाट–न्यू बुटवल २२० केभी र न्यू बुटवल–कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन निर्माणको क्रममा छ ।
उता चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन पूर्वी चितवन सवस्टेसन निर्माण गरिएको प्राधिकरणले जनाएको छ ।
भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३/११ केभी चैनपुर सवस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ । लामो प्रसारण लाइन र क्षमताले नधान्दा सो क्षेत्रमा लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या देखिँदै आएको थियो ।
नयाँ सवस्टेसन सञ्चालनमा आएपछि प्राविधिक चुहावट करिब पाँच प्रतिशत घट्ने छ । ग्राहकले गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने छन् । प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी रुपमा विद्युत् काट्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ । हेटौँडाबाट भरतपुरतर्फको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सवस्टेसनमा मोडेर त्यस क्षेत्रमा आपूर्ति गर्ने तयारी छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.