रुग्ण आयोजनामा अख्तियारको चासो, विकासे कामलार्ई प्रभावकारी बनाउन २७ बुँदे सुझाव

  २०७६ फागुन १ गते १८:०९     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुग्ण अवस्थामा रहेका विभिन्न आयोजनाहरुमा चासो देखाएको छ । समयमै बन्न नसकेका तथा रुग्ण भएर अलपत्र परेका आयोजनाको अध्ययन गरेपछि आयोगले सरकारी निकायलाई २७ बुँदे सुझाव दिएको छ ।

आयोगले बिहिबार रुग्ण आयोजनाको व्यवस्थापन अध्ययन तथा विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सरकारी निकायलाई निर्देशनसहितकाे सुझाव दिएको हो ।

आयोगबाट सार्वजनिक खरिद तथा ठेक्का व्यवस्थापनका क्षेत्रमा अध्ययन तथा विश्लेषण गरेपछि १ वर्षको अवधिमा सम्बन्धित मन्त्रालय विभागहरूसँग समस्या समाधानका लागि पटक–पटक अन्तर्क्रिया गरेकाे आयोगले जनाएकाे छ ।

आयोगले रुग्ण ठेक्का सम्झौताहरूको कार्यान्वयनमा भए गरेको प्रगति समेतबारे अध्ययन विश्लेषण गरी ‘रुग्ण ठेक्काको व्यवस्थापन अध्ययन तथा विश्लेषण प्रतिवेदन सार्वजनिक गरेके छ ।

अख्तियारको अध्ययन अनुसार गत आर्थिक वर्षको माघसम्म रुग्ण अवस्थामा रहेका १ हजार ८ सय ४८ ठेक्कामध्ये १ वर्षको अवधिमा ६ सय १८ वटा ठेक्का सम्झौता अन्तर्गतका कार्यहरूको निर्माण सम्पन्न भएको आयोगले जनाएकाे छ ।

२८ वटा ठेक्काको ठेक्का सम्झौता अन्त्य गरिएको र ८६ अर्ब ४४ करोड बराबरका १ हजार २०२ वटा ठेक्का सम्झौताहरू हालसम्म पनि क्रमागत अवस्थामा रहेकाे प्रतिवेदना उल्लेख गरिएकाे छ ।