धनी बन्नबाट तपाईंलाई रोक्ने केहि गलत धारणाहरु, कसरी जित्ने यी भ्रमहरुलाई ?

  २०७६ फागुन २८ गते १२:४०     विकासन्युज

काठमाडाैं । जीवनमा कसरी आर्थिक सफलता हासिल गर्ने वा सम्पत्तिको आर्जन कसरी गर्ने भन्ने विषयमा तपाईंले प्रशस्तै सोच्नुभयो होला । यदि तपाईंले जीवनमा धन आर्जन गर्न अथक प्रयास गर्नुभएको छ, तर पनि सोचेजति कमाउन सक्नुभएको छैन भने तपाईं अबसम्म यो निष्कर्षमा पुगिसक्नुभयो होला कि धन भन्ने चिज जोसुकैको भाग्यमा छैन ।

तपाईंको श्रोत तथा पुँजीको कमी, काम गर्ने वातावरणको अभाव, लगानी डुब्छ कि भन्ने डर, सेवा तथा वस्तुबजारको सिमितता लगायतका कारण तपाईंले यो पनि सोचिसक्नुभयो होला कि यो संसारमा धनीहरुले मात्र अझै धेरै धन कमाउन सक्छन् र बाँकीले कदापी धन आर्जन गर्न सक्दैनन् ।

अमेरिकाका लगानी विज्ञ, सेल्स ट्रेनर तथा हाउ रिच पिपल थिङ्क र हाउ मनी वर्कस् जस्ता पुस्तकका लेखक स्टिभ सिइबोल्डले किन कसैलाई प्रशस्त सम्पत्ति कमाउन अप्ठेरो हुन्छ भन्ने प्रश्नको जवाफ खोज्न जीवनको ३६ वर्ष अध्ययनमा लगाए । अध्ययनको क्रममा उनले १३ हजार भन्दा बढी मल्टि-मिलिनार र अन्य मध्यमवर्गीय मानिसहरुसँग अन्तर्वार्ता गरे ।

यति धेरै अध्ययन र मिहेनतको निष्कर्ष उनले के निकाले भने अत्याधिक धनआर्जन गर्ने व्यक्तिहरुले आफ्नो जीवनलाई भिन्न किसिमको सोच, विश्वास, दर्शन र रणनीतिका साथ अगाडी बढाएका हुन्छन् । उनीहरुको धनआर्जनको रहस्य न त उनीहरुसँग पहिल्यैदेखि भएको सम्पत्ति हो न सो सम्पत्ति र श्रोतको सदुपयोगद्वारा संचालन गरेको व्यापार वा अन्य कर्म नै, बरु उक्त रहस्य त उनीहरुको सोचको स्तर र निर्णय क्षमता लगायतका गुण हुन् ।

‘अर्को अर्थमा भन्नुपर्दा धनी बन्नका लागि तपाईंले धनी मानिसले झैँ सोच्न जरुरी छ,’ आफै एक मध्यमवर्गीय व्यक्तिबाट मल्टि-मिलिनारको हैसियतसम्म पुगेका सिइबोल्ड प्रष्ट्याउँछन्, ‘जसै मैले यस अवधारणालाई अंगिकार गरेँ तब मैले पनि यथेष्ठ धन कमाउन थालेँ । यसै सोचलाई विश्वास गरी मैले आफ्नो व्यवसाय थालेँ र अन्तत सेल्फ-मेड मल्टि-मिलिनार बन्न सफल भएँ ।’

आफ्नो अध्ययनको आधारमा उनै सिइबोल्डले पहिचान गरेका तपाईं- हाम्रो धेरै धन कमाउने बाटोमा तगारो बन्नसक्ने वा बनेका केहि मध्यमवर्गीय गलत मानसिकता तल उल्लेख गरिएका छन् ।

१. कडा मिहेनत (भलै त्यो मैले घृणा गर्ने जागिरमै किन नहोस्) ले धनी बनाउँछ

आफूलाई मनै नपर्ने जागिर वा काम भएता पनि अधिकांश मानिस आयको बाटो पहिल्याउने अवसरको खोजीमा आफ्नो चाहनासँग सम्झौता गर्छन् र सोप्रति प्रतिबद्ध भएर लाग्न थाल्दछ । सोहि काम वा जागिर उनीहरुको जीवनको यति अभिन्न अंग बन्न पुग्छ कि केहि वर्षभित्रै उनीहरु कतै म सो जागिरबाट निकालिनु पर्ने त हैन वा कहिले पदोन्नती होला भन्ने सोचमै निबृत्त हुने दिनसम्मको यात्रा तय गरिसक्छन् ।

किन यस्तो हुन्छ थाहा छ ? किनकी उनीहरु यहि मान्न थाल्छन् कि उनीहरुको जीवनमा धनी बन्न सघाउने एउटा मात्रै उपलब्ध माध्यम भनेको यहि जागिर नै हो । तर सत्य के हो भने सो जागिर वा कामले उनीहरुको आथिक उन्नती नभइरहेको अवस्थामा पनि अब कहाँ जाने र के गर्ने भन्नेमा निर्क्यौल निकाल्न नसकेकै कारण उनीहरु जवनभर त्यहि जागिरको दास बन्न पुग्छन् ।

मानवशास्त्री हाडास विइसले आफ्नो पुस्तक वि ह्याभ नेभर बिन मिडिल क्लासः हाउ सोसल मोबिलिटी मिसलिड्स अस पुस्तकमा तर्क गरेकी छिन्, ‘मिडिल क्लासको सोच मेरिटोक्रेसी (आफ्नो क्षमता एवं योग्यतामाथि विश्वास गर्ने प्रणाली) सँग बलियोरुपमा गाँसिएको हुन्छ र उनीहरुलाई लाग्छ कि क्षमता र मिहेनतको प्रदर्शनका कारण उनीहरु आयआर्जन गर्ने उचित स्थानमा पुग्छन् र सोहि स्थान (कार्यालय, कम्पनी लगायत) ले उनीहरुलाई अझ धनी बन्न सहयोग गर्छ ।’

तर अर्कातर्फ धनी बन्ने सोच भएका व्यक्तिहरु भने ‘परिपूर्णता’का लागि काम गर्ने गर्छन् । उनीहरु पैसा कमाउनका लागि आफ्नो इच्छासँग सम्झौता गर्दैनन् । बरु त्यहि काम गर्छन् जसलाई उनीहरु माया गर्छन् र जे गर्दा उनीहरु रमाउँछन् । यहि कारण उनीहरु ‘गर्नका लागि मात्र’ काम गर्दैनन् बरु आफ्नो सम्पूर्ण जोश, जाँगर, मन र मस्तिष्क लगाएर कार्यसम्पादन गर्दछन् । यसको परिणामस्वरुप उनीहरुको कामको उचित मूल्यांकन हुन्छ र उनीहरु असाधारण कमाइद्धारा सम्मानित हुन्छन् ।

आफ्नो सोच बदल्नुस्ः कमाउनका लागि आफूलाई जाँगर नलाग्ने काम गर्नुको सट्टा त्यहि काम गर्नुस्, जसलाई तपाईं मन पराउनुहुन्छ । आफ्नो काममा पूर्ण लगाव भएर सफलता र आर्थिक लाभ हासिल गरेको व्यक्तिसँग कुरा गर्नुस् र उनीहरुको सफलताको कथाबाट आफू पनि उत्प्रेरित हुनुहोस् ।


२. औपचारिक शैक्षिक योग्यताविना धन कमाउन सकिँदैन

मध्यमवर्गका मानिसहरुले औपचारिक शिक्षामा गरेको लगानीको परिमाणले भविष्यमा आर्जन हुने धनको मात्रालाई निर्धारणा गर्दछ भन्ने भ्रम पाल्दछन् । तर राम्रो विश्वविद्यालय र उच्च अंकले मात्र धन आर्जन गर्न सक्षम बनाउँथ्यो भने तपाईं आफ्नै वरपरका व्यक्तिहरुको अवलोकन गर्नुस् जसले राम्रो डिग्री हासिल नगर्दा पनि अत्याधिक धन आर्जन गरेका छन् ।

उदाहरणको लागि करिब ३२ अर्ब अमेरिकी डलरका मालिक डेल कम्प्युटर कम्पनीका सीइओ माइकेल डेलले टेक्सास विश्वविद्यालयमा भर्ना भएकै वर्ष अध्ययनलाई बिचमै त्यागी निस्केका थिए । यसैगरी, औपचारिक अध्ययन नसकेका एप्पलका सहसंस्थापक स्टिभ जब्स्ले बिचमै कलेज त्याग्नु ‘जीवनकै सबैभन्दा उत्कृष्ट निर्णयमध्येको एक’ भएको बताएका थिए ।

विश्वका धेरै अर्बपतीहरु तपाईँले जिवनमा पाउने आर्थिक सफलतासँग तपाईँले कति पाठ्य-सामाग्री घोक्नुभयो वा कुन स्तरको शैक्षिक डिग्री प्राप्त गर्नुभयो भन्ने कुराको कुनै सम्बन्ध नरहेको मत राख्दछन् । बरु उनीहरु आफूले काम वा लगानी गर्न चाहेको क्षेत्र वा विषयमाथिको विज्ञता र शक्तिशाली व्यक्तिहरुसँगको संजाल निर्माणले आफूले हात पर्ने कुल सम्पत्तिको परिमाणमा प्रभाव पार्ने विश्वास राख्दछन् ।

आफ्नो सोच बदल्नुस्: औपचारिक शिक्षाले तपाई“को आर्थिक सफलता वा सम्पत्तिको आर्जन सुनिश्चित गर्दैन । बरु आफूलाई गर्न मन लागेको काम वा क्षेत्रको बारेमा धेरैभन्दा धेरै जानकारी हासिल गर्नु फाइदाजनक हुन्छ । अझ सो विषयसम्बन्धी छोटा अनलाईन कोर्स गर्दा अथवा अन्य विविध तरिकाले स्वअध्ययनमा लाग्दा झनै प्रभावकारी हुने अध्ययनहरुले देखाएका छन् ।

३. भाग्यमानी मानिसले मात्रै धन कमाउँछन्

औसत मानिसले यो संसारमा धेरै कम मान्छे मात्र धनी हुन सक्छन् र धन कमाउनेहरुले आफ्नो क्षमताभन्दा पनि भाग्यको कारणले कमाएको हो भन्ने सोच राख्दछन् । यसका साथै धन कमाउनका लागि गरेका प्रयासहरुले उचित सफलता दिन नसक्दा उनीहरु आफ्नै भाग्यलाई धिक्कार्न थाल्छन् । अझ यति सम्मकी आफूले बस्तु वा सेवाको बिक्रीको क्रममा मानिसलाई मार्नु हुन्न भन्ने सोच राखी सामाग्रीको मूल्य पनि कम राख्छन् ।

यसको विपरीत धनी बन्नसक्ने क्षमता भएका मानिसले भने पुँजीवादी अर्थ व्यवस्था भएको देशको नागरिक भएको नाताले उनीहरु मनग्ये धन कमाउन पाउनु आफ्नो अधिकार भएको ठान्दछन् । उनीहरु अरुका लागि सामाग्री, सेवा वा समाधानको विकास गरी बिक्री गरेको बदलामा ग्राहकहरुसँग पैसा लिनु सामान्य सोच्दछन् । र उनीहरु भाग्यलाई भन्दा पनि आफूले गरेको मिहेनत, सोच र बुद्धिमानी कार्य वा व्यापार शैली लगायतलाई धन आर्जनको कारण मान्दछन् ।

आफ्नो सोच बदल्नुस्ः धन हासिल गर्नका लागि भाग्य हैन, तपाईंलाई सहि सोच्ने, उत्कृष्ट ब्यवस्थापन गर्ने तथा उचित निर्णय लिने क्षमताको आवश्यकता पर्दछ जुन जोकोहिले पनि बिस्तारै सिक्न सक्दछन् ।

४. धेरै धनले मानिसलाई नराम्रो बनाउँछ

हुनत सम्पत्ति मानव सेवा र सामाजिक भलाई गर्ने तथा संसारबाट दुखलाई अन्त्य गर्ने महत्वपूर्ण साधान भएता पनि औसत मानिसहरुले भने धनले मानिसलाई भ्रष्ट, कञ्जुस, नीच एवं स्वार्थी बनाउ“छ भन्ने सोच्दछन् । सम्पत्ति कमाउने मान्छेले अरुलाई थिचोमिचो गरेर मात्र धन कमाउँछ र समस्या पर्दा कसैलाई पनि सहयोग गर्दैन भन्ने ठान्दछन् ।
तर धनी मानिसहरु भने संसारमा कुनै पनि प्रकारको शक्ति, स्वतन्त्रता र प्रतिष्ठ नै मानिसको सच्चा परिचय हुने तर्क गर्दछन् ।

अध्ययनहरुले के देखाएका छन् भने यदि कसैले छल गरेर, धोका दिएर तथा ठगेर सम्पत्ति कमाएको छ भने उ पछिसम्म खराब हुन्छ तर यदि कसैले इमान्दारितापूर्वक मिहेनत गरेर आर्थिक सफलता हासिल गरेको छ भने उ पछिसम्मै अझ बढी नम्र, कोमल र दयालु हुन्छ ।

त्यसोत अमेरिकका सबैभन्दा धनी दानबिरहरु बारे विकासन्यूजमा केहि दिनअघि ऐजेन्सीहरुको सहयोगमा एउटा रिपोर्ट प्रकाशित गरिएको थियो जसमा उनीहरुले आफूले कमाएको हिस्साबाट संसारभरका दिनदुखीहरुको भलाइका लागि अर्बांै अमेरिकी डलरबराबरको दान गरेको विषयलाई समेटिएको थियो । यसले पनि धनी मानिस स्वार्थी हुन्छन् भन्ने अवधारणा गलत भएको प्रमाणित गर्दछ ।

आफ्नो सोच बदल्नुस्ः यदि तपाईं दयालु र विनम्र हुने दिशामा अग्रसर हुनुहुन्छ भने धनले तपाईंको नैतिक चरित्रलाई अझ सुधार गरी तपाईंलाई मानवहितको बाटोमा थप अग्रसर हुन प्रेरणा दिन्छ ।

५. आर्जित धनको प्रयोग गर्नु ठिक होइन

औसत मानिसहरु प्रायजसो दरिद्र मानसिकताबाट ग्रसित हुन्छन् । उनीहरु आफूले गरेको आम्दानीलाई खर्च नगरी साँचेर राख्नुपर्नेतर्फ सचेत रहन्छन् । केहि आवश्यकताको परिपूर्ती गर्नपर्ने अवस्थामा पनि सजिलै पैसा निकाल्न चाहँदैनन भने कमाइसकेको पैसा खर्च गर्दा फेरी त्यो पैसा कहिल्यै पुर्नहासिल गर्न सकिँदैन भन्ने भ्रम उनीहरुले पालेका हुन्छन् । अझ, आफूले कमाएको कमाइ कसैले चोर्ला, ठगेर भाग्ला भन्ने खालको असुरक्षित सोचबाट गुज्रीरहेका हुन्छन् उनीहरु ।

तर धनी व्यक्तिहरु भने कमाइलाई साँचेर राख्नुभन्दा पनि झनै सहजरुपमा अझ बढी धन आर्जन गर्ने काममा लगाउँछन् । उनीहरुले आफूले गरेको कामबाट भइरहेको कमाइको अध्ययन गरि सो कमाइलाई त्यहि काममै लगाउन चाहन्छन् । अझ गरिरहेको कामभन्दा कुनै फरक काममा थप आर्थिक लाभ छ वा सो काम सम्पन्न गर्न अझै सजिलो छ भने सोहि क्षेत्रमा आफ्नो कमाइलाई लगाउने प्रबृत्तिका हुन्छन् उनीहरु ।

आफ्नो सोच बदल्नुस्ः गरिरहेको कामका लगानी थप्न वा नयाँ क्षेत्रमा लगानीको बिस्तार गर्न तथा अतिरिक्त कमाइ हुने काम गर्नका लागि जोखिम मोल्ने क्षमतालाई बढाउनुहोस् ।

६. पैसाले मानिसलाई चिन्ता र तनाव दिन्छ

सम्पत्ति कमाउँदा समाजले कुरा काट्ने, आफन्तले डाहा गर्ने, लुटपात अथवा चोरी लगायत हुनसक्ने र अनावश्यक रुपमा दुष्मनी कमाइने लगायतको डर र चिन्ताले पनि कतिपय मध्यमवर्गीय मानिसलाई सम्पत्ति आर्जनको बाटोमा लाग्न दिँदैन । यसका साथसाथै सम्पत्ति कमाउन पनि गाह्रो हुने र सोभन्दा गाह्रो सम्पत्तिको व्यवस्थापनमा हुने लगायतको सोचबाट उनीहरु पीडित भएका हुन्छन् ।

तथापी, धनीहरुको नजरमा भने सम्पत्तिको व्यवस्थापन बुद्धिमानी दिमागको उपज हो । उनीहरु आफ्नो तर्क र विबेकको प्रयोगसहित सम्पत्ति केका लागि र किन कमाउने तथा कहाँ र कसरी खर्च गर्ने भन्नेमा विश्वस्त हुन्छन् । उनीहरुका लागि सम्पत्ति भनेको थप विकल्प तथा अवसरहरु श्रृजना गर्ने माध्यम हो । भने अझ बढी पैसा कसरी कमाउने भन्ने सवालमा उनीहरुले आफ्नो भावनात्मक पक्षलाई एकातिर पन्छाइ, बौद्धिक पक्षको मात्र प्रयोग गर्दछन् । यसै प्रसंगमा आयरल्याण्डका लेखक जोनाथन स्विफ्टले भनेका छन्, ‘एक विवेकी मानिसले आफ्नो मुटुमा होइन, दिमागमा पैसा राख्दछ ।’

आफ्नो सोच बदल्नुस्ः आफ्ना लागि आर्थिक रणनीतिको विकास गर्नुस् र सोप्रति अडिग रहन आफ्नो सम्पूर्ण ध्यान लगाउनुस् ।

७. जिन्दगीमा सबैभन्दा ठूलो शान्ति र सन्तुष्टि नै हो

धन आर्जन गर्ने बाटोमा लागेर सफलता पाउन नसकेका वा धन आर्जन गर्ने बाटोमा लाग्न नसकेका मध्यमवर्गीय मानिसले जीवनमा सबैभन्दा ठूलो सम्पत्ति भनेकै शान्ति र सन्तुष्टि हो भन्ने विचारलाई प्राथमिकता दिन्छन् । सम्पत्ति आर्जन गर्ने यात्रामा मानिसले शान्ति, सन्तुष्टि र अमनचयन त्याग्नुपर्ने भन्ने उनीहरको सोच रहन्छ ।

तर आर्थिकरुपमा सफल मानिसले भने जिवनको सबैभन्दा ठूलो सुख नै भौतिक सुख भएको र सम्पत्तिको आर्जनविना कुनै पनि भौतिक उपलब्धि तथा सुख हासिल गर्न सकिँदैन भन्ने सोच राख्दछन् । त्यसैगरी आफूले आर्जन गरेको सम्पत्तिलाई उनीहरु भौतिक तथा अन्य सुख प्राप्त गर्न र जिवनलाई सहज र सुखी बनाउनतर्फ लगाउँछन् । धनी मानिसहरु आशावादी हुनुका साथसाथै जिवनमा आइपर्ने संघर्ष र कष्टसँग सहजै हार नमान्ने किसिमका हुन्छन् ।

आफ्नो सोच बदल्नुस्ः ठूलाठुला सपना तथा लक्ष्य हासिल गर्ने कार्य प्रेमीप्रेमिकासँग पार्कमा टहलिनजस्तो सजिलो हुँदैन । सुरु-सुरुमा केहि अप्ठेरो झेल्नुपरेता पनि सम्पत्ति हासिल गरिसकेपछि पाइने आनन्द र सन्तुष्टिको कुनै मूल्य हुँदैन ।