कमल थिङको उद्धारको लागि आवश्यक ‘ब्लडमनी’ संकलन भयाे

  २०७६ फागुन २३ गते १४:५३     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार उद्धार नेपालले सिन्धुली जिल्ला मरिन गाउँपालिका वडा नम्बर–२ स्थायी घर भएका कमल थिङको ‘ब्लडमनी’ तिर्नको लागि आवश्यक रकम उठिसकेको जनाएको छ । थिङलाई कतारको अदालतले ब्लडमनी तिर्नको लागि फैसला सुनाएको थियो ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा उक्त संस्थाले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराएको हो । ब्लडमनी तिर्नको लागि कतारी रियाल २ लाख अर्थात नेपाली ६० लाख भनिएको थियो ।

उक्त रकम तिर्नको लागि नेपालमा जम्मा भैसकेको छ । पारिवारिक सहमतिका आधारमा तोकिएको पैसा तयार गरिएको पनि संस्थाले जनाएको छ । मृत्तकको परिवारले बोलाएपछि उक्त रकम हस्तान्तरण गरिने पनि संस्थाले जनाएको छ ।

मृत्तक शिवरतन राउत पनि नेपालकै हुन् । उनको ठेगाना धनुषा जिल्ला घोडघाँस वडा नम्बर–३ हो । उनको परिवारले सहमति जनाएपछि ब्लडमनी तिर्न लागिएको पनि संस्थाले बताएको छ ।

मृत्तकको परिवारले रकम बुझेपछि आममाफीमा लिखित सहमति हुने र अहिले त्यसको लागि मृत्तकका छोरा राजकुमार राउतले थिङको परिवारसँग समन्वय गरिरहेको पनि उक्त संस्थाले स्पष्ट पारेको छ ।

सन् २०१८ सेप्टेम्बर ८ तारिखमा एक आपसमा जिस्किने क्रममा कतारमै दुर्घटना भई राउतको मृत्यु भएको कुरा पनि संस्थाले जनाएको छ । २०७६ साउन २१ गते कतारको दोहास्थित् नेपाली राजदूतावासले कतारमा मृत्यु भएका नेपाली नागरिक राउतको क्षतिपूर्तिको सम्बन्धमा मृत्तक र थिङ दुवैको परिवारलाई सम्बोधन गरेर पत्राचार समेत गरेको थियो ।

कार्यक्रममा वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष ईन्द्रलाल गोलेले घट्ना भएपछि थिङको परिवारका सदस्यहरु आफूहरुको संस्थामा आएको र उद्धारको लागि निवेदन दिएको सुनाए ।