२०७६ फागुन २८ गते १२:१६ विकासन्युज
काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । तर विश्वभर फैलिरहेको कोरोना भाइरसकै कारण पनि साधारणसभा सर्ने सम्भावना बढी छ । सो साधारण सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् ।
त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुँदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो ।
सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ?
यो प्रश्न हामीले स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्त कुमार श्रेष्ठ, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशब प्रसाद भण्डारी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल र गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीलाई सोधका छौं । उनीहरुले महासंघको अबको नेतृत्वले सरकारसँग सहकार्य र व्यवसायीका समस्या सुनिदिने र नेतृत्वमात्र नभएर व्यवसायीलाई संरक्षण गर्ने नेतृत्व आवश्यक रहेको धारणा राखेका छन् ।
साहसिक नेतृत्वको आवश्यकता छ
बिक्रान्त कुमार श्रेष्ठ, अध्यक्ष, स्याङ्जा उद्योग वाणिज्य संघ
नेपाल उद्योग वाणिज्य महासंघको अबको नेतृत्वले सबै व्यवसायीको हक समान हो भन्ने ठानोस् । समान व्यवहारले काम गरोस् । हामी साना तथा मझौला व्यवसायीहरुका धेरै समस्याहरु छन् । ती समस्याहरुलाई साहसिक तरिकाले समाधान गर्ने नेतृत्व हामीलाई आवश्यक छ ।
हामीले गाउँपालिकादेखि केन्द्रसम्म कर तिर्नु पर्ने अवस्था छ । यसको अन्त्य गरोस् । बंैंकले ७ प्रतिशत भनेर ऋण दिन्छ पछि ८ प्रतिशत लिन्छ । यो प्रवृतिलाई व्यवस्थित गर्ने नेतृत्व हामीलाई चाहिन्छ । सबैको अपेक्षा भनेको जसले सबैलाई समान व्यवहार गरेर अगाडि बढ्छ त्यही हामीलाई चाहिन्छ ।
सरकारसँग लविङ गर्न खालको हुनु पर्छ
केशब प्रसाद भण्डारी, अध्यक्ष नवलपरासी उद्योग वाणिज्य संघ
सरकारसँग उद्योगी व्यवसायीका समस्यालाई सरल रुपले पुर्याइदिने नेतृत्व आवश्यक छ । हामीलाई कर ठूलो समस्याका रुपमा देखा परेको छ । हामी लगानी गर्न खोज्छौं तर हामीलाई त्यो खालको वातावरण सिर्जना हुँदैन । अबको नेतृत्वले निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने हुनु पर्छ । उद्योग र व्यवसायीलाई हेर्ने दृष्ट्रिकोण एउटै हुनु पर्छ । कुनै पनि कानुनी कूराहरु ल्याउँदा हामी निजी क्षेत्रको सहकार्य बिना सफल र देश सम्बृद्ध बन्न सक्दैन । हामी सँग सहकार्य गरेर अगाडि बढ्ने सिर्जना अबको नेतृत्वले गर्नु पर्छ ।
यो निर्वाचनको अपेक्षा सरकारसँग लविङ गर्न सक्ने नेतृत्व हुनु पर्यो । जिल्ला नगरका व्यवसायीका भावना बुझ्ने नेतृत्व हुनुपर्छ । गैर कानुनी रुपबाट हुने कामलाई रोक्नु पर्यो । हाम्रा धेरै समस्या छन् । यसको नेतृत्व आउने नेतृत्वले गर्न आवश्यक छ ।
सबै व्यवसायीलाई समान व्यवहार गर्ने नेतृत्व आवश्यक छ
खिम बहादुर हमाल, अध्यक्ष बुटवल उद्योग वाणिज्य संघ
उद्योगी व्यवसायीका समस्यालाई पहल गरी समाधान गर्नतर्फ अगाडि बढ्ने नेतृत्व हामीलाई आवश्यक छ । नेपाल उद्योग वाणिज्य महासंघमा अब आउने नेतृत्वले सबै उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्न सकोस् । देशमा रोजगार सिर्जना गर्ने मूख्य भूमिका उद्यागी व्यवसायीको हुन्छ । यसका लागि नीति नियमहरु सजिलो बनाउनका लागि अबको नेतृत्वले भूमिका खेल्न सक्नु पर्छ ।
अबको नेतृत्वले राम्रो काम गरोस् भन्ने हामीले अपेक्षा गरेका छौं । करको कुरामा धेरै समस्या छ । यसको समस्या निराकरण गर्ने काम भइरहेको छैन । ठूला घराना र उद्योगीहरुका समस्याहरुलाई मात्र सुन्ने र बुझ्ने मात्र नभई समग्र व्यवसायीको हितमा काम गर्न सक्ने हुनु पर्छ । हाल हामी साना व्यवासयीहरुका धेरै समस्याहरु छन् । ती समस्याहरुलाई सरल रुपमा लिएर राज्यसँग वार्ता गर्न सक्ने हुनु पर्छ ।
नेतृत्वका लागि मात्र नभई व्यवसायीलाई संरक्षण गर्ने खालको नेतृत्व हामीलाई आवश्यक छ ।
श्रीप्रसाद भलामी ,अध्यक्ष ,गुल्मी उद्योग वाणिज्य संघ
हालसम्मको नेतृत्वले सशक्त रुपमा निजी क्षेत्रका माग राख्न सकिरहेको अवस्था छैन । हाम्रा धेरै मागहरु छन् । जुझारु नेतृत्व हामीलाई आवश्यक छ । नेतृत्वका लागि मात्र नभई व्यवसायीलाई संरक्षण गर्ने खालको नेतृत्व हामीलाई आवश्यक छ । हाम्रो समस्या ढुवानीको छ । हाम्रो पहाडमा साना व्यवसायी मात्र छौं । यो समस्यालाई समाधान गर्ने नेतृत्व हामीलाई आवश्यक छ ।
नेपाल उद्योग वाणिज्य महासंको अब आउने नेतृत्व कुशल सक्षम र सबै व्यवसायीका पिर मर्का बुझ्ने खालको हुनु पर्छ । हामी जिल्ला नगरका व्यवसायीका समस्याहरु अहिले सम्म राज्यसम्म पुगाउने प्रयास महासंघले गर्न सकेको अवस्था छैन । त्यो अवस्थालाई अबको नेतृत्वले गहन रुपमा लिन सकोस् हाम्रो यही अपेक्षा छ ।
सम्बन्धित समाचार:
Copyright © 2024 Bikash Media Pvt. Ltd.