२०७६ फागुन ३० गते ११:३९ विकासन्युज
सुर्खेत । यहाँका ४० हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ । अगामी चैत १ गतेदेखि सञ्चालन हुने सो अभियानअन्तर्गत यहाँका नौ स्थानीय तहका ती सङ्ख्याका बालबालिकामा खोप लगाउन थालिएको हो ।
दादुरा र रुबेला रोगविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन तीन चरणमा सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।
“पहिलो चरणमा चैत १ गतेदेखि ६ गते वीरेन्द्रनगर नगरपालिका, दोस्रो चरणमा चैत ८ देखि १५ सम्म सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अभियान सञ्चालन हुनेछ”, उनले भने,
“तेस्रो चरणमा चैत १५ देखि १९ सम्म चिङ्गाड गाउँपालिका, भेरीगङ्गा नगरपालिका, लेकवेंशी नगरपालिका र बराहताल गाउँपालिकामा खोप अभियान सम्पन्न गरिनेछ ।” उनका अनुसार सुर्खेतमा ५८० खोप केन्द्रमा १७० जना तालीम प्राप्त भ्याक्सिनेटर (खोपकर्मी) र एक हजार १६० स्वयंसेवक परिचालन हुनेछन् ।
दादुरा र रुबेला नौ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिका र जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप लगाइने कार्यालय प्रमुख वाग्ले बताउँछन् । बालबालिकाको शरीरमा सम्बन्धित रोगविरुद्ध लड्नसक्ने प्रतिरोधात्मक क्षमताको विकास गराउन खोप अनिवार्य रहेको जनाइएको छ ।
बाल तथा मातृ मृत्युदरमा कमी ल्याउने, औशत आयुमा वृिद्ध गर्ने र सन् २०२३ सम्ममा पोलियो रोग उन्मूलन एवं दादुरा रुबेला निवारण गर्ने अभियानले उद्देश्य राखेको उनले बताए । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.