२०७६ चैत १४ गते १२:४८ राजाराम न्यौपाने
काठमाडाैं । विश्वभर नै कोरोना भाइरसको जोखिम बढ्दै गएका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हात, कुहिनो, अनुहार र अनुभवको दुरीको पालना गरे कोरोना भाइरस सङ्क्रमणको जोखिम घट्ने बताएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले व्यवहारमा लागु गर्नुपर्ने कुराहरुको सूचना निकाल्दै भाइरसको प्रकोपबाट बच्न सजिला र प्रभावकारी उपाय जानकारी गराएकाे छ ।
हात
विश्व स्वास्थ्य सङ्गठनले सबैभन्दा ध्यान दिनुपर्ने कुरामा हातलाई लिएको छ । भाइरस फैलनुको मुख्य माध्यम हात भएको भन्दै डब्ल्यूएचओले साबुन पानीले बारम्बार हात धुन अनुरोध गरेको छ । हात धुँदा हातमा भएको भाइरस मर्ने भएकोले यो सरल, सहज र महत्वपूर्ण उपाय हो ।
हात दूषित भएपछि, हातबाट भाइरस शरीरभित्र जाने भएकोले हातले अनुहार छोइरहने बानी पूरै त्याग्न डब्ल्यूएचओले सुझाव दिएको छ ।
कुहिनो
विश्व स्वास्थ्य सङ्गठनले कुहिनोलाई पनि भाइरस रोक्ने माध्यमका रुपमा लिइएको छ । खोक्दा वा हाच्छिउँ गर्दा कुहिनो, टिस्यु पेपर, रुमाल जस्ता बस्तुको प्रयोग गर्न सकिन्छ । खोक्दा वा हाच्छिउँ गर्दा कुहिनोले मुख छोप्दा भाइरस अरु व्यक्तिमा फैलिने खतरा कम हुन्छ । कुहिनाको प्रयोग गर्दा अन्य फ्लु लगायतका भाइरस पनि अरुमा फैलनबाट रोक्न सकिने विश्व स्वास्थ्य सङ्गठनको सूचनामा उल्लेख छ ।
अनुहार
भाइरस शरीरमा प्रवेश गर्ने मुख्य माध्यम अनुहार हो । विश्व स्वास्थ्य सङ्गठनले विशेषगरी आफ्नो अनुहार, आँखा, नाक र मुखलाई हातले नछुन भनेको छ । हातले धेरै ठाउँमा छुन्छ र चाँडै भाइरसको सङ्क्रमण फैलिन सक्छ । यदि अनुहार छुनै परे छुनुअघि हात साबुन पानीले धुन सङ्गठनले आग्रह गरेकाे छ ।
दुरी
विश्व स्वास्थ्य सङ्गठनले अर्को महत्त्वपूर्ण कुरा मानिसबीचको दुरीलाई लिएको छ । डब्ल्यूएचओले अब दोस्रो मानिससँगको दुरीमा एक कदम पछि हट्न भन्दै अर्को व्यक्तिसँगको दुरी कम्तीमा एक मिटर कायम गर्न भनेको छ ।
हात मिलाउने, अङ्कमाल गर्ने तथा चुम्बन गर्ने बानी त्याग्न सूचनामा उल्लेखे छ । यसो गर्दा आफूमा भएको सङ्क्रमण अरुमा सर्ने र अरुमा भएको सङ्क्रमण आफूमा सर्ने जोखिम कम हुने सङ्गठनले जनाएकाे छ।
महसुस
विश्व स्वास्थ्य सङ्गठनले आफूलाई असहज महसुस भएमा घरमै बस्ने, स्वास्थ्य अधिकारीले भनेका कुराहरु पालना गर्ने भनेको छ । तर ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा डाक्टर वा सरकारले तोकेका अधिकारीहरुलाई तत्काल जानकारी गराउने र स्थानीय अधिकारीमार्फत सुरक्षित भएर अस्पताल जान पनि डब्ल्यूएचओले अनुरोध गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा
Copyright © 2024 Bikash Media Pvt. Ltd.