विदेशी नागरिक उद्धारमा पहिलो पटक लामो उडानकाे तयारी नेपाल एयरलाइन्स

  २०७६ चैत १९ गते १६:३१     विकासन्युज

काठमाडौं । चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैं नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उड्दैछ । वाइड बडी जहाजले अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिकको उद्धारका लागि उडान भर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताए ।

उनले ६ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २ सय ५० यात्रुसहितको यस अद्वितीय उडान फेरी क्वालालम्पुर हुँदै बिहीबार राति नेपालमा अवतरण गर्ने तालिका रहेको जानकारी दिए ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ । निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तव्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।

वाइड बडी जहाज बिहीबार राति १०ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमले बिहीबार चीनको ग्वाङ्जाओ गन्तव्यमा कार्गो उडान गर्दैछ । चीनबाट कोभिड–१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ ।

यसअघि निगमको वाइड बडी ए ३३० जहाजले चैत १६ गते चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको थियो । हाल दुई वाइड बडी ए–३३० र दुई थान न्यारोबडी ए—३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.