२०७६ चैत २७ गते १९:४७ विकासन्युज
काठमाडौं । नेपाल-भारत मानव विकास एवं मैत्री संघले कोरोना भाइरस (कोभिड-१९ ) को परीक्षण एवं उपचारमा खटिन सूदुर पश्चिम प्रदेशका चिकित्सकहरुका लागि आवश्यक पर्ने २ सय थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) र अन्य मेडिकल सामाग्री सहयोग गरेको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको उक्त सामाग्रीहरु खानेपानी मन्त्री मगरलाई सिंहदरबारमा बिहीबार हस्तान्तरण गरेका हुन् ।
कोरोना विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि सहयोग प्राप्त भएको आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री पीपीई मन्त्री मगरले सूदुर पश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने बताइन्। पीपीई लगायतका स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री मगरले संस्थालाई धन्यवाद दिँदै विपद्को समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आव्हान गरेकी छिन् ।
साथै, यस किसिमको सहयोगले कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन मद्दत पुग्ने उनले बताइन्।
संघले सहयोग गरेको सामाग्रीहरुमा पीपीई सेट लगायत पञ्जा, एप्रोन, मास्क, चस्मा, टोपी र स्यानिटाइजर लगायत छन् ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सूदुर पश्चिम सरकारसंग खानेपानी मन्त्री मगरले समन्वय गरिरहेकी छिन्। सूदुर पश्चिम प्रदेश सरकारसंग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई केन्द्र सरकारले यसअघि नै जिम्मेवारी दिएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.