२०७७ वैशाख १ गते १२:१४ विकासन्युज
काठमाडौं । लकडाउनसँगै बजार नपाएपछि यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् । लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौं हो । त्यहाँ फूल जान छाडेपछि बारीमा नै सुकेर नष्ट हुन थालेको छ ।
कतिपयले त फूल बिक्री गर्न नपाएपछि काटेर फाल्नसमेत शुरु गरेको पश्चिम चितवनमा फूल व्यवसाय गर्दै आएका बद्री रानाले जानकारी दिए । उनले भने, “लकडाउनले बजार खुल्न पाएको छैन । फूल बजारमा जान नपाएपछि काटेर फाल्न शुरु गरेका छौं ।” उनले एक बिघा १० कट्ठामा फूल खेती गर्दै आएका छन् । ग्याडुलस जातको फूल लगाएका राना अहिलेसम्म एक लाखभन्दा बढीको फूल काटेर फालेको बताउँछन् ।
फ्लोरीकल्चर एशोसिएशन नेपाल चितवनका अध्यक्ष प्रकाश पन्त अहिले फूल खेती गर्ने किसान चिन्तित बन्न थालेको बताए । उनका अनुसार व्यावसायिकरूपमा गरिएको फूल खेती ग्याडुलस र गोदावरी बारीमा नै सुक्न थालेका छन् । पन्तले जिल्लामा छ बिघाभन्दा बढीमा लगाइएको ग्याडुलस र गोदावरी फूल नष्ट भएको जानकारी दिए । एक बिघाको फूल बिक्री गर्दा १५ लाख रुपैयाँ हाराहारी आम्दानी हुने भए पनि ती सबै नष्ट हुने अवस्थामा पुगेको उनले बताए । अधिकांशले जग्गा भाडामा लिएर महँगोमा खरिद गरेको बीउ र गोडमेलमा धेरै खेताला लगाउने हुँदा व्यवसायी मारमा परेको उनको भनाइ छ ।
पन्तको दुई बिघामा ग्याडुलस र आठ कट्ठामा गोदावरी फूल रहेको छ । उनले भने, “अब ऋण कसरी तिर्ने त्यही चिन्तामा हामी छौं ।” बैंकबाट ऋण लिएर व्यवसाय गरेका किसानलाई बैंकको ब्याज तिर्नसमेत समस्या परेको उनको गुनासो छ । उनले भने, “बीउ महँगो छ । उत्पादन भएको वस्तु बिक्री गर्न पाइएको छैन । चिन्ता थपिएको छ ।” उनले राज्यले फूल व्यवसाय गर्ने किसानलाई सहयोग गर्नुपर्ने बताए । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.