२०७७ वैशाख १ गते १६:५६ सन्ताेष राेकाया
काठमाडौं । एउटा प्रशंगबाट शुरु गरौं ।
तान्जेनियाका महिलाहरु शल्यक्रियाको लागि अस्पताल जाँदा यात्रा गरिरहेको बसलाई टिकट देखाउनु अर्थात पैसा दिनुको सट्टा एउटा मेसेज देखाउँछन् । यस्तै, पाकिस्तानका बैंकहरु पनि खाली देखिन्छन् । यसको मतलव उनीहरु पैसाको कारोबार नगर्ने भन्ने होइन ।
उनीहरुसँग बैंकमा गएर लाइन लाग्ने समय छैन । उनीहरु त घरमै बसेर अर्थात काम गरिरहेकै समयमा मोबाइल बैंकिङको भरपुर फाइदा लिइरहेका हुन्छन् ।
यस्तै, अमेरिकामा ८० प्रतिशत स्मार्टफोन मालिकहरूले विगत छ महिनामा अनलाइनबाटै सामान खरीदको लागि आफ्नो उपकरण (मोबाइल) प्रयोग गरे । सन् २०१९ मा तिनीहरूको बैंक ब्यालेन्स जाँच गर्न तीन चौथाईभन्दा धेरै अमेरिकीहरूले मोबाइलको प्रयोग गरेकाे पाइयाे ।
यी डिजिटल बैंकिङ प्रयोग गर्ने केही प्रतिनिधि देशहरु मात्र हुन् । घरमै बसेर डिजिटल बैंकिङको भरपुर प्रयोग गर्नेहरूकाे संख्या संसारभर धेरै ठूलाे छ ।
अनि हामी नेपाली ? सिक्दैछौं । बानी पार्दैछाैं ।
डिजिटल बैंकिङ शाखा आधारित बैंकिङ मोडेलका साथ सन् १९९०को दशकमा शुरु भयो । त्यो समयदेखि विश्वमा यसको प्रयोग र प्रभाव निकै बढेको छ । त्यो समयदेखि विश्वभर नै नयाँ बैंकहरूले डिजिटल बैंकिङको प्रयोगलाई वृद्धि गर्दै गए ।
डिजिटल बैंकिंङ प्रणाली देशमा आर्थिक गतिविधिहरुको प्रवर्द्धनको लागि आवश्यक छ । वस्तु तथा उत्पादन खरीद गर्न चाहने ग्राहक र उत्पादक जो वस्तुलाई बिक्री गर्छन् । उनीहरुका लागि पनि डिजिटल बैंकिङ कोसेढुङ्गा सावित हुन पुग्यो र सक्छ पनि ।
बैंकिंङ क्षेत्रको मुख्य उद्धेश्य भनेको आफ्ना ग्राहकलाई प्रभावकारी ढंगले बैंकिङ सेवा दिनु हो । अहिलेको सन्दर्भमा डिजिटल बैंकिंङ त्यसको एक मात्र आधार र विकल्प हो । नेपाली बैंक तथा वित्तीय संस्थाहरु पछिल्लो समय आफ्ना ग्राहकलाई कसरी सेवा दिने ? कुन खालको सेवा दिने भन्नेतर्फ बढी चनाखाे हुन थालेका छन् ।
त्यो चासो बढ्नु स्वभाविक हो । बजार हो । बजारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नै पर्छ । प्रतिस्पर्धाका लागि भिजन र मिसन चाहिँन्छ । नेपाली बैंक तथा वित्तीय संस्थाहरु पनि अहिले आफ्ना ग्राहकलाई सन्तुष्ट पार्न सक्ने एक मात्र आधार डिजिटिल बैंकिंङमा विशेष जाेड दिइरहेका छन् ।
डिजिटल बैंकिङबाट सेवाग्राहीले घरमै बसेर वा जुनसकै ठाउँबाट पनि आफ्नो बैंक खाताको कारोबार गर्न सक्छन् । नेपालमा डिजिटल बैंकिङको अभ्यास त्यति लामो छैन । तर, समय, माग र आफ्नो सेवा सुविधाका लागि पनि सर्वसाधारणाले यसप्रति चासो राख्न थालेका छन् ।
हिजोका दिनहरु जस्तो घण्टौं लाईनमा लागेर दुई हजार रुपैयाँ बैंकबाट झिँक्ने दिन अहिले छैन । यसलाई मध्येनजर गर्दै नेपाली बैंकहरुले पनि डिजिटल बैंकिङका लागि आवश्यक तयारी र पूर्वाधारहरु पनि तयार गरिरहेका छन् ।
डिजिटल बैंकिंङ प्रयोगको सबैभन्दा ठूलो चुनौती भनेको आम नागरिकलाई यसप्रति बानी बसाल्नु हो ।
त्यसका लागि अहिले नेपाली बैंकहरु अभ्यासरत छन् । माछापुच्छ्रे बैंकका डिजिटल बैंकिङ विभागका नायब प्रमुख विनय रेग्मी अहिले नेपाली बैंकहरु सेवाग्राहीलाई डिजिटल बैंकिंङ प्रयोग गर्न सिकाइरहेको बताउँछन् । सबैभन्दा महत्वपूर्ण पाटो ग्राहकले डिजिटल बैंकिंङ प्रयोग गर्न जान्नु भएकाले बैंकहरुले सबैभन्दा बढी ध्यान यसमा केन्द्रित गरेको उनको भनाइ छ ।
आकर्षण बढ्दो
खासगरी ३ वर्षयता बैंकिङ प्रविधिका ग्राहक ह्वात्तै बढेका छन् । २०७३ चैत्र मसान्तसम्म मोबाइल बैंकिङका ग्राहक २४ लाखमात्रै थिए । अहिले १ करोड नजिक पुगेका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको मात्रै तथ्यांक हेर्ने हो भने पनि बैंकिङ प्रविधिमा सर्वसाधारणको आकर्षण निकै बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अहिले डिजिटल बैंकिङबिना ग्राहकलाई छिटो तथा छरितो सेवा सम्भव नभएको बताए । राष्ट्र बैंकले पनि डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्नका लागि विभिन्न रणनीतिहरु बनाइरहेको उनको भनाइ छ ।
डिजिटल बैंकिङप्रति सर्वसाधारणको चासो, यसको प्रयोग र कारोबार बढ्दै गएको भट्टले बताए ।
‘यो समयमा डिजिटल बैंकिङ प्रवद्र्धन गर्ने महत्वपूर्ण समय हो, भारतमा पनि अहिले डिजिटल पेमेन्टमा राम्रो आर्कषण बढेको छ, हामी पनि त्यसलाई आत्मसाथ गरी अगाडि बढिरहेका छौं, यसको अन्य विकल्प छैन,’ उनले भने ।
आव ०७५/७६ को असार मसान्तसम्म मोबाइल बैंकिङका प्रयोगकर्ता ८३ लाख ४७ हजार १ सय ८७ थिए । तर, चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांक अनुसार मोबाइल बैंकिङका ग्राहक ९८ लाखभन्दा बढी पुगिगसकेका छन् ।
राष्ट्र बैंकका अनुसार इन्टरनेट बैंकिङमा ९ लाख ६९ हजार, एटीएम ३६ हजार ६२, डेविट काडर्का प्रयोगकर्ता ७२ लाख १५ हजार र क्रेडिटकार्डका प्रयोगकर्ताको संख्या एक लाख ४६ हजार पुगेको छ ।
मोबाइल र इन्टरनेट बैंकिङका प्रयोगकर्तासँगै डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्नेहरूको संख्या पनि वृद्धि भइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले यी विभिन्न सेवा तथा सुविधाहरु दिनका लागि विभिन्न रणनीतिहरु पनि अपनाई रहेका छन् ।
डिजिटल बैंकिङकाे विकल्प छैन
राष्ट्र बैंकले समय–समयमा डिजिटल बैंकिङ तथा प्रविधिको प्रयोग बढाउन बैंकहरूलाई निर्देशन दिँदै आएको छ । प्रविधिको प्रयोगबाट छिटो र सस्तोमा धेरै काम गर्न सकिने भएकाले पनि यसको प्रयोग बढाउन केन्द्रीय बैंकले निर्देशन दिइरहेको हो ।
यद्यपि राष्ट्र बैंककाे निर्देशनकाे परिपालना र विश्वसनियतामा केही समस्या देखिएका पनि छन् । नेपालका लागि यो नयाँ अभ्यास भएपनि कतिपय बैंकहरुले भने डिजिटल बैंकिङलाई एक अवसरका रुपमा सदुपयोग गरिरहेका छन् । यसको प्रत्यक्ष लाभ ग्राहकले लिइरहेका छन् ।
अझै पनि बैंकिङ प्रविधि विश्वसनीय बन्न सकिरहेका छैनन् । बेला–बेलामा बैंकिङ क्षेत्रमा हुने गरेका ह्याकिङ तथा चोरीका घटनाले सर्वसाधारणमा आतंक सिर्जना हुने गरेको छ । तर, यसमा प्रवक्ता भट्ट भने जहाँ अवसर त्यहाँ चुनौती पनि हुने भएकोले त्यो जोखिम कम गर्नका लागि विभिन्न उपायहरुको अवलम्बन र प्रयास भइरहेको बताउँछन् ।
डिजिटल बैंकिङमा चुनौती र जोखिम हुने बित्तिकै यसबाट कोही भाग्न नहुने उनको तर्क छ । बैंकिङ प्रविधिको जतिसक्दो उपभोग गर्नुपर्ने भन्दै उनले बैंकहरूले प्रविधिमा लगानी थप बढाउनु पर्ने आवश्यकता औंल्याए । बैंकहरू पनि प्रविधिको प्रयोग बढाउनु पर्नेमै जोड दिन्छन् ।
प्रविधिमा नेपालमा मात्रै नभएर विश्वभर नै चुनौती रहे पनि यसबाट कोही डराउन नहुने महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराज लामिछाने बताउँछन् ।
‘प्रविधिमा केही चुनौती त हुन्छ नै, यो नेपालमा मात्रै होइन विश्वभर नै हुन्छ, विगतका घटनाबाट पाठ सिकेर मजबुत बन्ने हो, डराउने हाेइन,’ उनले भने ।
राष्ट्र बैंकका प्रवक्ता भट्ट पनि डिजिटल बैंकिङ बारे अन्तर्राष्ट्रिय अभ्यास हेरेर जोखिमरहित बनाउनेमा जोड दिन्छन् ।
‘विभिन्न समयमा भएका अध्ययन अनुसन्धानलाई आधार मानेर हामीले संयन्त्र बनाइरहेका छौं, यसको छुट्टै विभाग पनि बनाएर हामी काम गरिरहेका छौं,’ उनले भने ।
नेपाली बैंकहरुले डिजिटल बैंकिङको विस्तार तथा प्रवद्र्धनका लागि भौतिक पूर्वाधारहरु पनि निर्माण गरिसकेको बताउँदै उनले यसको प्रयोगले व्यक्ति मात्र होइन, देश नै लाभान्वित हुने बताए ।
लकडाउन एक अवसर
डिजिटल बैंकिङ प्रयोग तथा सिक्नका लागि लकडाउन एक किसिमको अवसर भएको बैंकर्सको धारणा छ । अहिले धेरै बैंकहरुले लकडाउनलाई एक अवसरका रुपमा लिएर आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ सिकाई रहेका छन् ।
सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै सबै मानिसहरु घरभित्रै छन् । दैनिक उपभोग्य वस्तुदेखि विभिन्न सपिङ गर्ने काम मानिसहरु घरबाटै गर्न थालेका छन् । तर, धेरै ग्राहकमा डिजिटल बैंकिङ सम्बन्धि ज्ञान नहुँदा बैंकहरुको ध्यान सेवा सिकाउनेतर्फ छ । उनीहरु मोबाइल बैंकिङ प्रवद्र्धन गर्नको लागि रणनीतिक रुपमा लागिरहेका छन् ।
डिजिटल बैंकिङ सम्बन्धि सचेतना गर्नको लागि बैंकहरुले विभिन्न च्यानलहरुकाे प्रयोग पनि गरिरहेका छन् । रेग्मीले मोबाइल बैंकिङबाट के–के गर्न सकिन्छ भन्ने कुराहरुलाई लिएर विभिन्न माध्यममार्फत सम्पर्क भइरहेको बताए । मोबाईल बैंकिङ सेवामा ग्राहकलाई आवद्ध गर्ने र साे एपलाई चलाउन प्रेरित गर्नको लागि आफुहरुले कल सेन्टर तथा डेडिकेटेड कार्यदलको प्रयोग गरेर काम गरिरहेको उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाहरूले यो लकडाउनको समय सदुपयोग गरेर डिजिटल बैंकिङ सेवालाई विस्तार गरिरहेका छन् । प्रवक्ता भट्टले पनि यो समय मात्र नभएर यो वर्ष नै डिजिटल बैंकिङमा जानका लागि महत्वपूर्ण हुन सक्ने बताए ।
‘यो अवस्थामा घरमै बसेर सपिङ गर्न सकियो, आफ्नै मोबाइलबाट व्यालेन्स टपअप गर्न सकियो भने भोलिको दिनमा ठूलो रकमको कारोबार पनि मोबाइल बैंकिङ मार्फत गर्न सकिन्छ,’ उनले भने ।
लकडाउनको समयमा सामान होम डेलिभरी गर्ने, अनलाइन कारोबार गर्ने व्यापार पनि बढ्न सक्ने उनको बुझाई छ ।
पेमेन्ट आधुनिक बनाउन नेशनल पेमेन्ट गेटवे
राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवालाई सहज अर्थात आधुनिक बनाउनका लागि नेशनल पेमेन्ट गेटवे सिस्टमको अध्ययनमा जुटेको छ । प्रवक्ता भट्टले देशको पेमेन्ट प्रणालीलाई आधुनिक तथा सहज बनाउनका लागि राष्ट्र बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरु नेशनल पेमेन्ट गेटवेको अध्ययनमा जुटेको बताए ।
‘विभिन्न वालेटहरुको संख्या पनि बढिरहेको छ, बैंकहरुले पनि यसलाई प्राथमिकताका साथ काम गरिहेका छन्, हामी क्यास बोकेर सामान किन्न जाने समयबाट छुट्कारा पाउँदैछाैं, अब सहज वाताववरण बन्दैछ , असुरक्षा महसुस हुँदैन,’ उनले भने ।
अहिले सबैमा डिजिटल बैंकिङलाई विस्तार गर्नु पर्छ भन्ने सन्देश पनि प्रवाह भएको बताउँदै उनले अहिले भइरहेको नीतिगत व्यवस्थाहरु अत्यन्तै महत्वपूर्ण भएकोले त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने बताए ।
‘नेपालमा ५ वर्ष अगाडि पेमेन्टका विषयमा यति धेरै बहस हुँदैनथ्यो, तर, अहिले याे विषयमा धेरै चासो बढेको छ,’ उनले भने ।
डिजिटल बैंकिङका लागि यो वर्ष कोसेढुङ्गा सावित हुन सक्छ । सबै बैंक तथा वित्तीय संस्थाहरुले यसको प्रवद्र्धनमा जुट्नु पर्ने उनको धारणा छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.