२०७७ जेठ ८ गते ९:५७ विकासन्युज
काठमाडौं । बङ्गालको खाडीबाट उत्पन्न भएको एउटा समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा गरी कम्तीमा १५ जनाको मृत्यु भएको छ । साे आँधीका कारण प्रभावित क्षेत्रमा तीव्र हावाहुरी र वर्षाका कारण उथलपुथल भएको जनाइएको छ ।
पूर्वी भारतीय राज्यहरू र बाङ्ग्लादेशमा अम्पन नामक उक्त आँधीको असर धेरै देखिएको छ । ती क्षेत्रहरूमा तीव्र गतिको हुरी चल्दा रुखहरू ढलेका छन् भने घरको छानाहरू उडेका छन् । बिजुली र टेलिफोनका खम्बाहरू पनि ढलेका छन्।
३० लाखलाई सुरक्षित स्थानमा सारियो
कतिपय घरहरूमा लडेका रुखहरू र खम्बाहरू पस्दा मानिसहरू घाइते समेत बनेका छन् । कम्तीमा ३० लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
सुरक्षित स्थानमा सारिएकाहरूमा बाङ्ग्लादेशीहरू धेरै छन्। कोरोनाभाइरसका महामारीका कारण उद्धारमा कठिनाइ उत्पन्न भएको छ ।
ठूलो आँधी
कोभिड-१९ का कारण सामाजिक दूरी कायम गर्नुपर्दा आम उद्धारमा समस्या भएको हो । कतिपय मानिसहरू सुरक्षित क्षेत्रमा जान तयार भइरहेका छैनन् ।
त्यसमध्ये केही मानिसहरू हालै मात्र कोरोनाभाइरसबाट बच्न क्वारन्टीनमा बसेर फर्केकाहरू पनि छन् । उक्त आँधी बङ्गालको खाडीमा सन् १९१९ यता आएको सबैभन्दा ठूलो समुद्री आँधी हो ।
यद्यपि यसको हावाको गति केही कम भएको छ। तर पनि यसलाई एकदमै शक्तिशाली समुद्री आँधीका रूपमा लिइएको छ ।
नेपालमा प्रभाव
मौसमविद्हरूले नेपालमा पनि उक्त आँधीको प्रभाव देखिएको जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल उक्त आँधीको प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ ।
हाल देशको पूर्वी र मध्य भू(भागमा पूर्ण बदली रही पश्चिममा आंशिक बदली रहेको उसले जनाएको छ । पूर्व र मध्यको थोरै स्थानमा वर्षा भईरहेको पनि महाशाखाले जनाएको छ ।
उसले चट्ट्याङ र केही साना खोलाहरूमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आह्वान पनि गरेको छ । (बीबीसी)
Copyright © 2025 Bikash Media Pvt. Ltd.