२०७७ जेठ ८ गते १३:१२ विकासन्युज
गलकोट । बडिगाड गाउँपलिकाको वडा नं २ सिमलचौरका शिव भनिने सुरजबहादुर कुमालले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् । ज्याला मजदुरीमा धानिएको परिवार घर र गोठ जलेर नष्ट भएपछि परिवारको बिचल्ली भएको छ ।
बुधबार राति ९ः०० बजेपछि प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । गोठमा बाँधिएका पशु भने फुकाइएको थियो ।
घरगोठ जल्दा दुई लाख ४५ हजार रूपैयाँ बराबरको क्षति भएको खर्बाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । घरधनी सुरजले रातिको समयमा मदिरा सेवन गरी श्रीमती राधिका र छोराछोरीलाई पिट्न थालेपछि उनीहरु भागेका थिए । त्यही सयममा कुमालले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ ।
श्रीमानले आफूहरुलाई कुट्न थालेपछि छोराछोरी लिएर ज्यान बचाउन छिमेकीको घरमा पुगेका बेला श्रीमानले आफ्नै घरमा आगो लगाएको पीडित राधिकाले बताए ।
श्रीमान्ले अत्यधिक मदिरा सेवन गर्दै आएका कारण आफू समस्यामा पर्दै आएको उनले गुनासो गरे । घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानीयवासीले घरभित्रैबाट निकालेका थिए । आगो नियन्त्रणमा आएपछि प्रहरीले सुरजलाई नियन्त्रणमा लिई प्रहरीचौकी खर्बाङमा राखेको छ ।
खरको छानो विस्थापित गरी टिनको छाना लगाउने गरी तयार गरिएका सबै काठसहित सिङ्गो घर गोठ नै जलेपछि परिवार बिचल्लीमा परेको छ । परिवारमा श्रीमान् श्रीमतीसहित तीन छोरा र एक छोरी छन् । बन्दाबन्दीको समयमा घर गोठ जल्दा खाने बस्नेको समस्या भएको छ ।
घर जलेपछि छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्बाङले त्रिपाललगायतका अत्यावश्यक वस्तु सहयोग गर्ने सभापति होमनाथ अर्यालले जानकारी दिए । आगलागीपीडित कुमालको परिवारलाई गाउँपालिकाले समेत राहत प्रदान गर्ने बडिगाड गाउँपालिकाले जनाएको छ ।
क्वारेन्टिनमा बसेका घर फिर्ता
जिल्लाको बागलुङ नगरपालिका–१ रामरेखा क्वारेन्टिनमा बसेका २२ जना पिसिआर परीक्षणपश्चात् घर पठाइएको छ ।
तराईका जिल्ला तथा भारतबाट जिल्ला आएका २२ जना क्वारेन्टिनमा बस्दै आएको बागलुङ नगरपालिकाले जनाएको छ । उनीहरुको मङ्गलबार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि बुधबार उनीहरुलाई घर पठाइको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । ‘आइतबार स्वाब सङ्कलन गरी पोखरा पठाइएकामा मङ्गलबार कोरोना नभएको रिपोर्ट आएपछि क्वारेन्टिनबाट बिदाइ गरिएको छ’, उनले भने, ‘उनीहरुलाई घरमा समेत सावधानी अपनाउन भनिएको छ ।’
सो नगरपालिकाले निर्माण गरेको रामरेखा आधारभूत विद्यालयमा अहिले एकजनामात्रै र रमेटारस्थित धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानमा तीनजनालाई राखिएको उनले जानकारी दिए । नगरपालकाले शुरुमा निर्माण गरेको २० श्यया क्षमताको क्वारेन्टिनलाई थप गरी ६० श्ययाको निर्माण गरेको छ ।
सो नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयोजनमा भारतबाट आएर भैरहवा तथा कैलालीलगायत जिल्लामा बस्दै आएका ५८ जनाको उद्धार गरिसकेको छ । नगरपालिकाले उद्धारलाई ध्यानमा राखी बागलुङ नगरपालिका-४ रमेटारस्थित धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानमा ४० श्ययाको क्वारेन्टिन थप गरेको हो । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.