३० गतेदेखि भूकम्प पीडितलाई घर बनाउन ५० हजार, बैंक खाता अनिवार्य

  २०७२ फागुन २८ गते १०:२६     विकासन्युज

काठमाडौं, २८ फागुन । सरकारले फागुन ३० गतेदेखि भूकम्प पीडितलाई घर बनाउन पहिलो किस्ताको ५० हजार रुपैंयाँ वितरण गर्न लागेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले दोलखाको सिंगटीबाट पाईलट प्रोजेक्टका रुपमा भूकम्प पीडितलाई पहिलो किस्ता वापत ५० हजार रुपैंयाँ वितरण गर्न लागेको हो । ३० गते सिंगटी स्रोत केन्द्रका लामीडाडा र लादुक गाबिसका २८ सय घरधुरीले पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ प्राप्त गर्नेछन् ।

लामीडाडा र लादुमका २८ सय घर धुरीलाई १४ करोड रुपैंयाँ वितरण गरिनेछ । प्राधिकरणले दुबैं गाबिसका भूकम्प पीडितहरुलाई बैंक खाता खोल्न लगाईसकिएको छ ।

घर निर्माणका लागि उपलब्ध गराईने रकम सिधै पीडितको बैंक खातामा जम्मा हुने व्यवस्था गरिएको छ । ‘सिंगटी स्रोत केन्द्रका सबै पीडितलाई बैंक खाता खोल्न भनिसकेका छौं, सबैले खाता खोलिसकेका छन, फागुन ३० गते सिंगटीका भूकम्प पीडितको बैंक खातामा ५० हजार जम्मा हुन्छ ।’ प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारीले भने ।
यस अघि फागुन २० गते नै सिंगटीका भूकम्प पीडितलाई घर बनाउन ५० हजार रुपैंयाँ उपलब्ध गराउने भनिएको थियो । तर प्राबिधिक तयारी नपुगेकाले १० दिन ढिलो भएको हो ।

प्राधिकरणका कामु सचिव अधिकारीका अनुसार डिजिटल तथ्यांक संकलन सम्पन्न भएका सबै स्रोत केन्द्रहरुमा पहिलो किस्ताको रकम तत्कालै बाढ्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ । ‘हितग्राहीको तथ्यांक संकलन भएका सबै स्रोत केन्द्रहरुमा द्रुतगतिमा पहिलो किस्ताको रकम वितरण आरम्भ हुन्छ ।’ कामु सचिव अधिकारीले भने ।

हाल सरकारले भूकम्प पीडितको डिजिटल तथ्यांक संकलनको काम केन्द्रिय तथ्यांक बिभाग मार्फत गरिरहेको छ ।
सरकारले भूकम्प पीडितलाई घर बनाउने तीन किस्तामा दुई लाख रुपैंयाँ उपलब्ध गराउँदैछ । त्यसको पहिलो किस्ता ५० हजार, दोश्रो किस्ता ८० हजार र तेश्रो तथा अन्तिम किस्ता वापत ७० हजार रुपैंयाँ प्रदान गरिनेछ ।

सरकारले भूकम्प पीडितलाई दिने राहत तथा पुननिर्माण रकम सम्बन्धी कार्यबिधी फागुन १९ गते पारित गरेको थियो । अब भूकम्प पीडितले घर बनाउन सरकारले तयार पारेका २५ वटा नक्साकै भर पर्नु पर्दैन् । भूकम्प प्रतिरोधी भवनको नक्सा तयार गरेर स्थानिय निकायबाट स्विकृत गराएर आफु अनुकुलको भवन निर्माण गर्न सकिनेछ ।