२०७७ जेठ २५ गते १३:११ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज, सेयर ब्रोकर तथा लगानीकर्ताहरु सेयर बजार खुलाउने पक्षमा उभिएका छन् । चैत ११ गतेदेखि बन्द सेयर बजार असार १ गतेदेखि खुल्ने सम्भावना देखिएको छ ।
पुँजी बजारमा सबै स्टेकहोल्डर बजार खुलाउने पक्षमा देखिएको, व्यवसायीहरु नै बजार खुलाउनु पर्छ भनेर अगाडि आएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । ‘अहिले बजारमा व्यवसायीहरु बजार खुला गर्नुपर्छ भनेर अगाडि आएका छन् । बजारमा जनस्वास्थ्य सम्बन्धि चेतना अभिवृद्धि भएको छ । समस्या सधैं हुन्छ । समस्यासँग जुद्धै जानुपर्छ’ अध्यक्ष ढुंगानाले भने ।
जनताको स्वास्थ्य सुरक्षाको लागि सेयर बजार बन्द गर्नु परेको बताउँदै उनले लामो समय सेयर कारोबार बन्द गर्दा यसलाई लाभ वा नोक्सानीसँग जोडर हेर्न नहुने बताए । बीचमा बजार खुला गर्दा दैनिक ३०/३५ जनामा संक्रमणपछि बजारमा त्रास भएको र बन्द गर्नु परेको बताउँदै अहिले मानिसमा त्रासको लेभल घट्दै गएको उनले बताए ।
नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदमा आफू पहिला पनि बजार नियमित रूपमा खुला राख्ने पक्षमा रहेको बताए । बजार बन्द हुँदा अनलाईन कारोबारलाई सहज बनाउने गरि थप कामहरु भएकोले अब बजार खुला गर्दा कारोबारमा समस्या नहुने उनको भनाई छ ।
स्टक ब्रोकर एसोशिएसनका निवर्तमान अध्यक्ष प्रियराज रेग्मीले बजार बन्द हुँदा सबैभन्दा बढी मर्का स्टक ब्रोकरलाई परेको बताए । ‘कर्मचारी खर्च, घर भाडा लगायत ९० प्रतिशत खर्च भईरहेको छ । बजार बन्द हुँदा आम्दानी शुन्य भएको छ’ रेग्मीले समस्या बताए ।
सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले सेयर कारोबार र भुक्तानी प्रणाली सबै अनलाईनबाट हुने अवस्थामा सेयर बजार सुचारु हुन सक्ने बताए ।
सेयर बजारमा उच्च गिरावट आउने त्रासमा लगानीकर्ता रहेका छन् । तर लगानीकर्ताको मनोबल बढाउने कार्यक्रम तत्काल आउने सम्भावना भने नभएको बोर्डका अध्यक्ष ढुंगानाले बताए । ‘सेयर बजार तलमाथि भईरहन्छ । मूल्य प्रभावलाई पार्ने काम हामीले गर्दैनौं’ उनले भने ।
धितोपत्र बोर्ड २७ वर्ष पूरा गरी २८ वर्षमा प्रवेश गरेको अवसरमा विकासन्युजले गरेको विकास वहसमा भाग लिँदै अध्यक्ष ढुंगानाले पुँजी बजारलाई सरल र सहज बनाउन सेयर बजारका लगानीकर्ता, सेवा प्रदायक संस्थाहरुलाई प्रविधि मैत्री बनाउन जरुरी भएको बताए ।
उनका अनुसार नेपाल स्टक एक्स्चेन्ज, सीडीएस एण्ड क्लियरिङ हाउस्, २५ वटा मर्जर बैंकर, ५० वटा ब्रोकर कम्पनीहरु पुँजी बजारका पूर्णकालीन संस्था छन् । सवा दुई सय संस्था नेप्सेमा सूचिकृत छन् । साढे चार सय कम्पनीहरु सेयर बजारमा प्रत्यक्ष रुपमा सक्रिय छन् । डिपी एकाउन्ट भएका सेयर लगानीकर्ताको संख्या साढे १६ लाख छ ।
‘बजार घना भएको छ । अब बजारलाई सरल र सहज बनाउन सेयर बजारका लगानीकर्ता, सेवा प्रदायक संस्थाहरुलाई प्रविधि मैत्री बनाउन जरुरी छ’- उनले भने । अनलाइन कारोबार प्रणालीमा कारोबार रकम इन्ट्री गरेपछि कसलाई कति कमिशन जाने, कर कति लाग्ने प्रष्ट खुल्ने गरी प्रणालीको विकास आवश्यक भएको बोर्डका अध्यक्ष ढुंगानाले बताए ।
नेपाल स्टक एक्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लगानीकर्ताहरु विकसित प्रविधिको प्रयोगमा पछाडि परेको बताए । ब्रोकर कम्पनीहरुको क्षमता विकास पनि जरुरी भएको उनकाे भनाई छ । कनेक्ट आईपीएसमा जोडिएका लगानीकर्ताले सेयर कारोबारको भुक्तानी सहज रुपमा गर्न सक्ने उनले जनाएका छन् ।
स्टक ब्रोकर एशोसिएशनका निवर्तमान अध्यक्ष प्रियराज रेग्मीले सेयर कारोबारको लागि पूर्ण अनलाईन प्लेटफर्म बनेको तर भुक्तानी प्रणालीमा केही समस्या रहेको बताए । ब्रोकरको लागि आईटी पोलिसी, एपीआई पोलिसी आवश्यक भएको उनले बताए ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले जुनसुकै डिभाईसबाट सेयर किनबेच गर्न सक्ने र सेयर किनबेचपछि जुनसुकै बैंकमा खाता हुने, लगानीकर्ताले पनि कारोबार रकम भुक्तानी लिन दिनसक्ने प्रणालीको विकास हुन आवश्यक रहेको बताए ।
भिडियाे हेर्नुहाेस्ः
Copyright © 2024 Bikash Media Pvt. Ltd.