ट्रम्प ‘संविधानदेखि टाढिएको’ पूर्वसैनिक प्रमुख पावलको आरोप

  २०७७ जेठ २६ गते ७:३९     विकासन्युज

काठमाडाैं । अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावलले जातीयताविरोधी प्रदर्शनप्रति अपनाएको रवैयालाई लिएर राष्ट्रपति डोनल्ड ट्रम्पको चर्को आलोचना गर्दै उनी ‘संविधानदेखि टाढिएको’ बताएका छन् ।

पूर्व उच्च सैनिक अधिकारी समेत रहेका रिपब्लिकन नेता ट्रम्पको रवैयालाई लिएर आलोचना गर्नेहरूको सूचीमा पछिल्लो पटक थपिएका छन् ।प्रदर्शनहरूलाई दबाउनका निम्ति सेना परिचालन गर्ने लगायत चेतावनी ट्रम्पले दिएका थिए ।

पावलले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा आफूले डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई मत दिने बताएका छन् । ट्वीट गर्दै ट्रम्पले पावललाई ‘आवश्यकताभन्दा बढी महत्त्व पाएको व्यक्ति’ भनेका छन् ।

अफ्रिकी/अमेरिकी पावल ज्वाइन्ट चीफ्स अफ स्टाफ रहिसकेका छन् ।ट्रम्पको आलोचना गर्ने अमेरिकी पूर्व वरिष्ठ सैनिक अधिकारीहरूको पङ्क्तिमा उनी पनि उभिएका छन् ।

प्रहरी नियन्त्रणका क्रममा अफ्रिकी/अमेरिकी पुरुष जोर्ज फ्लोइडको मृत्युपछि जातीयता र प्रहरी दमनविरुद्ध प्रदर्शनहरू हुँदै आएको केही दिनपछि पछिल्लो विकासक्रम भएको हो । तनाव मत्थर हुँदै जाँदा आइतवारदेखि अमेरिकाभरि सुरक्षाका कदमहरू खुकुलो पारिएका छन् ।

न्यूयोर्कमा हप्तादेखि लगाइएको कर्फ्यू हटाइएको छ र ट्रम्पले वाशिङ्गटन डीसीबाट फर्कन न्याश्नल गार्डलाई आदेश दिन लागेको बताएका छन् ।

पावलले के भनेर ?
सीएनएनको स्टेट अफ युनियनमा आइतवार बोल्दै पावलले भने, ‘हामीसँग एउटा संविधान छ र हामीले त्यसलाई मान्नुपर्छ । तर राष्ट्रपति संविधानदेखि टाढिएका छन् ।’

ट्रम्पलाई इङ्गित गर्दै अवकाशप्राप्त चारतारे सैनिक जनरल पावलले भने, ‘उनी झूट बोल्छन् र त्यसबाट फुत्किन्छन् । किनकि मानिसहरूले उनलाई जवाफदेही बनाउँदैनन् ।’

अमेरिकी लोकतन्त्रका लागि ट्रम्पका अभिव्यक्तिहरू खतरनाक भएको भन्दै पावलले भने, ‘यस पटक चुनावमा म राष्ट्रपति ट्रम्पलाई निश्चित रूपमा कुनै प्रकारको सहयोग गर्न सक्दिनँ ।’

उनले थपे, ‘सामाजिक र राजनीतिक हिसाबले म जो बाइडनसँग निकै नजिक छु । मैले उनीसँग ३५, ४० वर्ष काम गरेको छु । अहिले उनी उम्मेदवार छन् र म उनलाई मत दिनेछु ।’

मध्यमार्गी रिपब्लिकनका रूपमा चिनिने पावलले सन् २०१६ मा ट्रम्पलाई मत दिएनन् । आफ्नो अन्तर्वार्तामा उनले पछिल्ला दिनमा ट्रम्पको आलोचना गरेका सैनिक नेतृत्त्वहरूप्रति समर्थन पनि जनाए ।

तत्कालीन राष्ट्रपति बराक ओबामाको कार्यकालमा ज्वाइन्ट चीफ्स अफ स्टाफ रहेका जनरल मार्टिन डेम्प्सेले राष्ट्रपति ट्रम्पका शब्दले अमेरिकी नागरिक र सैनिकबीचको सम्बन्धमा आघात पुगेको एबीसीको द वीक कार्यक्रममा आइतवार बताए । (बीबीसी नेपालीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.